गणेश बहादुर थापा
विदेश जाने निर्णय धेरै नेपालीका लागि रहरभन्दा बढी बाध्यता बनेको छ । देशभित्रै परिवारसँग बसेर आफ्नो श्रम र सीपको उपयोग गर्दै सम्मानजनक आम्दानी गर्ने चाहना कसलाई हुँदैन र ? रोजगारीका पर्याप्त अवसरको अभाव, सीमित आम्दानी, पारिवारिक जिम्मेवारी र राम्रो भविष्यको खोजीले ठूलो संख्यामा नेपालीलाई विदेशतर्फ धकेलिरहेको छ । गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म विदेश जाने तयारीमा रहेका युवाको संख्या कम छैन । उनीहरूमध्ये धेरैको एउटै सपना हुन्छ कि केही वर्ष विदेशमा काम गर्ने, ऋण तिर्ने, परिवारको आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही सम्पत्ति जोड्ने ।
विदेश जाने तयारीमा जुटेका धेरै नेपालीले एउटा महत्वपूर्ण विषयलाई अझै पर्याप्त प्राथमिकता दिन सकेका छैनन् । त्यो हो, विदेश जानुअघि कुनै न कुनै व्यावसायिक सीप सिक्नु । राहदानी बनाउने, प्रवेशाज्ञा -भिजा) खोज्ने, म्यानपावर कम्पनी धाउने, स्वास्थ्य परीक्षण गर्ने र हवाई टिकटको व्यवस्था मिलाउने कुरामा जति चासो देखाइन्छ, त्यति नै चासो आफूले विदेशमा गएर गर्ने कामको दक्षता हासिल गर्न देखाइएको पाइँदैन । विदेशमा राम्रो आम्दानी, सुरक्षित रोजगारी र सम्मानजनक जीवनको आधार केवल विदेश पुग्नु होइन, आफूले गर्ने काममा कति दक्ष हुनु हो भन्ने कुराले निर्धारण गर्छ ।
विदेशमा श्रमिकका रूपमा जाने व्यक्तिले आफ्नो श्रम बेच्ने मात्र होइन, आफ्नो क्षमता र दक्षता पनि प्रस्तुत गर्न सक्नुपर्छ । सीप नभएको श्रमिक र सीप भएको श्रमिकबीच कामको प्रकृति, जिम्मेवारी, आम्दानी र अवसरमा ठूलो अन्तर हुन सक्छ । एउटै कम्पनीमा काम गर्ने दुई व्यक्तिमध्ये एकले सामान्य श्रमिकको जिम्मेवारी पाउँदा अर्कोले प्राविधिक वा दक्ष कामदारका रूपमा अवसर पाउन सक्छ । यसको कारण उसको शैक्षिक प्रमाणपत्र मात्र नभएर व्यावहारिक ज्ञान र काम गर्ने क्षमता पनि हो ।
विदेशमा काम गर्न जाने व्यक्तिले कुन देशमा जाने हो, त्यहाँ कस्तो कामको माग छ र आफ्नो रुचि तथा क्षमताअनुसार कुन सीप सिक्न सकिन्छ भन्ने विषयमा पहिले नै जानकारी लिनुपर्छ । निर्माण क्षेत्रमा जाने सोच भएकाले इलेक्ट्रिसियन, प्लम्बिङ, वेल्डिङ, टायल फिटिङ, पेन्टिङ, कार्पेन्ट्री तथा मेसिन सञ्चालनजस्ता सीप सिक्न सक्छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा जानेले खाना पकाउने, बेकरी, हाउसकिपिङ, खाद्य सेवा र आतिथ्य सत्कारसम्बन्धी तालिम लिन सक्छन् । त्यस्तै, सवारीसाधन तथा यातायात क्षेत्रमा रुचि हुनेले सवारी मर्मत, हेभी इक्विपमेन्ट सञ्चालन र सवारीसाधनसम्बन्धी प्राविधिक सीप हासिल गर्न सक्छन् ।
यति मात्र होइन, ज्येष्ठ नागरिक तथा बिरामीको हेरचाह, बालबालिकाको स्याहार, सरसफाइ व्यवस्थापन, कृषि प्रविधि, औद्योगिक उत्पादन, वेल्डिङ तथा मेसिन मर्मतजस्ता क्षेत्रमा पनि दक्ष जनशक्तिको आवश्यकता हुन्छ । यस्ता कामका लागि सम्बन्धित देशले तोकेका तालिम, योग्यता, अनुभव र अनुमति भने पूरा गर्नुपर्ने हुन्छ । त्यसैले विदेश जाने योजना बनाउँदा गन्तव्य मुलुकको रोजगारी बजार बुझेर सीप छनोट गर्नु बुद्धिमानी हुन्छ ।
सीप सिक्नु भनेको तालिम केन्द्रमा केही दिन बिताएर प्रमाणपत्र हात पार्नु मात्र होइन । आफूले सिकेको काम व्यवहारमा गर्न सक्ने क्षमता विकास गर्नु हो । कुनै व्यक्तिले इलेक्ट्रिसियनको तालिम लिएको छ भने उसले सामान्य विद्युतीय जडान, मर्मत र सुरक्षा सावधानीबारे व्यावहारिक ज्ञान राख्नुपर्छ । प्लम्बिङ सिकेको छ भने पाइप जडानदेखि चुहावट मर्मतसम्मका काम गर्न सक्नुपर्छ । होटलमा काम गर्न जानेले भान्साको काम मात्र होइन, सरसफाइ, ग्राहकसँगको व्यवहार र कार्यस्थलको अनुशासन पनि बुझ्नुपर्छ । सीपको वास्तविक मूल्य प्रमाणपत्रमा होइन, काम गरेर देखाउन सक्ने क्षमतामा हुन्छ ।
भाषाको ज्ञान आवश्यक
विदेशमा काम गर्न जाने नेपालीका लागि व्यावसायिक सीपसँगै भाषाको ज्ञान पनि उत्तिकै महत्वपूर्ण छ । आफू काम गर्न जाने देशको भाषा जान्नु राम्रो हो । कम्तीमा दैनिक जीवनमा प्रयोग हुने सामान्य शब्द, निर्देशन बुझ्ने क्षमता र आफ्नो समस्या अरूलाई बताउन सक्ने ज्ञान हुनुपर्छ । अंग्रेजी भाषाको सामान्य ज्ञानले पनि धेरै देशमा काम गर्न सहज बनाउँछ ।
भाषा नजान्दा काममा दिइएको निर्देशन बुझ्न कठिन हुन्छ । सहकर्मी र रोजगारदातासँग संवाद गर्न समस्या हुन्छ । कतिपय अवस्थामा आफ्नो अधिकार, सुविधा र कामसम्बन्धी सर्त बुझ्न नसक्दा श्रमिकले अनावश्यक समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले विदेश जाने तयारीमा भाषा सिक्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ । भाषा सिक्न ठूलो शैक्षिक योग्यता आवश्यक पर्दैन । नियमित अभ्यास र इच्छाशक्ति भए सामान्य संवाद गर्न सक्ने क्षमता विकास गर्न सकिन्छ ।
त्यस्तै, विदेशमा काम गर्ने श्रमिकले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सुरक्षा नियमबारे जानकारी राख्नु आवश्यक छ । निर्माणस्थल, उद्योग, कारखाना, होटल वा कृषि क्षेत्रमा काम गर्दा अपनाउनुपर्ने सावधानी फरक–फरक हुन्छन् । सुरक्षा उपकरणको प्रयोग, मेसिन सञ्चालनका नियम र दुर्घटना हुन सक्ने अवस्थाबारे सामान्य जानकारी नहुँदा ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । त्यसैले सीपसँगै कार्यस्थलको सुरक्षा ज्ञान पनि हासिल गर्नुपर्छ ।
आम्दानी र आत्मसम्मान बढ्ने
विदेशमा काम गर्ने सबै नेपालीको उद्देश्य धेरै पैसा कमाउनु मात्र हुँदैन । सुरक्षित वातावरणमा काम गर्न पाउनु, आफ्नो श्रमको उचित मूल्य पाउनु र सम्मानजनक जीवन बिताउन पाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । दक्ष श्रमिकले सामान्यतः कामका विभिन्न अवसर खोज्न र आफ्नो क्षमता प्रस्तुत गर्न सहजता पाउँछ । सीप र अनुभव बढ्दै जाँदा थप जिम्मेवारी प्राप्त गर्ने सम्भावना पनि बढ्छ ।
विदेशमा सामान्य श्रमिकका रूपमा प्रवेश गरेको व्यक्ति पछि दक्ष कामदार, सुपरभाइजर वा प्राविधिक जिम्मेवारीमा पुग्न सक्छ तर त्यसका लागि अनुभवसँगै निरन्तर सिक्ने बानी आवश्यक हुन्छ । आजको श्रम बजारमा एउटै काम जानेर जीवनभर टिकिरहन सकिन्छ भन्ने अवस्था छैन । प्रविधि परिवर्तन भइरहेको छ । काम गर्ने तरिका बदलिँदै छ । मेसिन र आधुनिक उपकरणको प्रयोग बढिरहेको छ । त्यसैले आफूले सिकेको सीपलाई समयअनुसार अद्यावधिक गर्दै लैजानु पनि आवश्यक छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने विदेशमा सिकेको सीपलाई स्वदेश फर्किएपछि पनि उपयोग गर्न सकिन्छ । विदेशमा काम गर्दा हासिल गरेको अनुभव, प्राविधिक ज्ञान र कार्यशैलीलाई नेपालमै प्रयोग गर्न सक्ने सम्भावना प्रशस्त छ । विदेशमा सिकेको सीपका आधारमा आफ्नै व्यवसाय सञ्चालन गर्न, अरूलाई रोजगारी दिन वा नयाँ उद्यम शुरु गर्न सकिन्छ । यस अर्थमा विदेश जानुअघि सीप सिक्नु तत्कालीन रोजगारीका लागि मात्र होइन, दीर्घकालीन जीवन व्यवस्थापनका लागि पनि उपयोगी हुन्छ ।
सरकार र निजी क्षेत्रको जिम्मेवारी
विदेश जाने श्रमिकलाई सीप सिक्नुपर्छ भन्ने सल्लाह दिएर मात्र राज्यको जिम्मेवारी पूरा हुँदैन । सरकारले श्रमिकको मागअनुसार गुणस्तरीय तालिमको व्यवस्था गर्नुपर्छ । तालिम केन्द्रको पहुँच शहरमा मात्र सीमित नराखी गाउँगाउँसम्म विस्तार गर्न आवश्यक छ । आर्थिक अवस्था कमजोर भएका युवालाई निःशुल्क वा सहुलियतमा तालिम दिने व्यवस्था प्रभावकारी बनाउनुपर्छ ।
तालिम दिने संस्थाको गुणस्तर, प्रशिक्षकको दक्षता र प्रयोगात्मक अभ्यासको अवस्थासमेत नियमित अनुगमन हुनुपर्छ । केही दिनको तालिम दिएर प्रमाणपत्र वितरण गर्ने प्रवृत्तिले श्रमिकको हित गर्दैन । तालिमपछि काम गर्न सक्ने क्षमता विकास भयो कि भएन भन्ने विषयलाई मुख्य आधार बनाउनुपर्छ । विदेशमा कुन क्षेत्रमा कति जनशक्तिको माग छ भन्ने जानकारी पनि नियमित रूपमा सार्वजनिक गरिनुपर्छ ।
वैदेशिक रोजगारमा पठाउने संस्थाहरूले पनि श्रमिकलाई सीप र योग्यताअनुसारको काममा पठाउने जिम्मेवारी लिनुपर्छ । आकर्षक तलबको आश्वासन दिएर सीप नचाहिने काममा पठाउने वा एउटा काम भनेर अर्कै काममा लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । श्रमिकले पनि आफू जाने देश, रोजगारदाता कम्पनी, कामको प्रकृति, तलब, सुविधा र सम्झौताका सर्त राम्ररी बुझेर मात्र निर्णय लिनुपर्छ । सीप प्रमाणपत्रका नाममा नक्कली कागजात बनाउने वा अनावश्यक रकम असुल्ने संस्थाबाट पनि सावधान रहनुपर्छ ।
नेपालबाट विदेश जाने श्रमिकको संख्या ठूलो छ । उनीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र, परिवारको जीवनस्तर र राष्ट्रिय उपभोगमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ । विदेशमा श्रम गर्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाएका छन् कि छैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । वर्षौंसम्म विदेशमा पसिना बगाउँदा पनि सामान्य आर्थिक सुरक्षासमेत हासिल गर्न नसक्ने अवस्था आउनु दुःखद हो । यसको एउटा कारण सीप र दक्षताको अभाव पनि हुन सक्छ ।
अब विदेश जाने तयारीलाई केवल राहदानी -पासपोर्ट) र प्रवेशाज्ञा -भिजा) प्राप्त गर्ने प्रक्रियाका रूपमा सीमित राख्नु हुँदैन । विदेश जाने निर्णय गरेपछि सबैभन्दा पहिले आफूले कुन काम गर्ने हो भन्ने टुंगो लगाउने र त्यसअनुसार आवश्यक सीप हासिल गर्ने संस्कार विकास गर्नुपर्छ । युवाले पनि अरू विदेश गएको देखेर हतारमा निर्णय गर्नुको सट्टा आफ्नो क्षमता, रुचि र भविष्यको सम्भावना बुझ्नुपर्छ ।
परिवारले पनि विदेश जाने छोराछोरीलाई ऋण खोजेर पठाउने कुरामा मात्र ध्यान नदिई उनीहरूलाई आवश्यक तालिम र सीप सिकाउन सहयोग गर्नुपर्छ । केही समय तालिममा खर्च गर्दा विदेश पुगेपछि त्यसको प्रतिफल लामो समयसम्म प्राप्त हुन सक्छ । बरु सीप सिकेर केही ढिलो विदेश पुग्नु राम्रो हो, सीपविना हतारमा पुगेर वर्षौंसम्म न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था आउनुभन्दा ।
विदेश जाने नेपालीले बुझ्नुपर्ने कुरा के हो भने विदेशको विमानस्थलमा ओर्लनु नै सफलताको गन्तव्य होइन । त्यहाँ पुगेर आफ्नो क्षमता प्रदर्शन गर्न सक्नु, श्रमको उचित मूल्य प्राप्त गर्नु, सुरक्षित रूपमा काम गर्नु र भविष्यका लागि केही उपलब्धि हासिल गर्नु वास्तविक सफलता हो । श्रम गर्न कुनै काम सानो वा ठूलो हुँदैन, तर सीप भएको श्रमले मानिसलाई थप अवसर र आत्मसम्मान दिन्छ ।
त्यसैले विदेश जाने तयारीमा रहेका प्रत्येक युवाले एउटा संकल्प गर्न आवश्यक छ कि विदेश जानुअघि सीप सिक्ने, भाषा बुझ्ने र काम गर्ने क्षमता विकास गर्ने । आखिर विदेशमा आफ्नो पसिना मात्र बेच्ने होइन, ज्ञान, दक्षता र अनुभवको मूल्य पनि खोज्ने हो । सीपयुक्त जनशक्ति बनेर विदेश जाने हो भने विदेश यात्रा बाध्यताको निरन्तरता मात्र नभई जीवन परिवर्तनको अवसर पनि बन्न सक्छ ।
