साइरन रोकिएको दमकलले सुनाइरहेको कथा

Nayabimarsha (Weekly Newspaper from Nepal)

मनोज कुमार पोखरेल

वसन्तपुरको भीडमा एउटा गाडी अब कतै हतारिँदैन । आगो लागेको खबरले त्यसको इन्जिन तात्दैन, साइरन बज्दैन, पाइपबाट पानीको फोहोरा छुट्दैन । वर्षौंसम्म आगोसँग लडेको त्यो पुरानो दमकल अहिले आफैं स्थिर छ । मानिस त्यसलाई बाटो छोड्न होइन, नजिक गएर हेर्न थालेका छन् ।
कुनै समय उसको आगमन राहतको संकेत हुन्थ्यो । आज उसको उपस्थिति इतिहासको संकेत बनेको छ । काठमाडौंको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्रमा राखिएको यही पुरानो दमकलबाट नेपालको अग्नि नियन्त्रण सेवाको झन्डै एक शताब्दी लामो कथा खोतल्न सकिन्छ । त्यो कथा एउटा मोटरको मात्र होइन । सडक नहुँदाको काठमाडौं, सीमित प्रविधिबीच आगोसँग जुधेको समाज र अहिलेको आधुनिक भनिएको सहरसम्म आइपुग्दा बदलिएको जोखिमको पनि कथा हो ।
नेपालमा दमकलको आवश्यकता कुनै योजनाकारको टेबलमा बसेर अचानक जन्मिएको थिएन । त्यसका पछाडि आगोले दिएको कठोर चेतावनी थियो । राणाकालीन काठमाडौंको भव्य सेतो दरबार आगोको चपेटामा परेपछि तत्कालीन शासकलाई एउटा वास्तविकता महसुस भयो कि आगो लागेपछि मानिसको भीड, बाल्टिन र पानी मात्रै पर्याप्त हुँदैनन् । शहर जोगाउन त्यसअनुसारको प्रविधि चाहिन्छ ।
त्यही आवश्यकताले विदेशबाट दमकल मगाउने बाटो खोल्यो । तात्कालीन प्रधानमन्त्री जुद्धशमशेर ज.ब.रा.को पालामा बेलायतबाट तीनवटा दमकल ल्याइएको इतिहास पाइन्छ । त्यसपछि वि.सं. १९९४ मा काठमाडौंमा जुद्ध वारुण यन्त्रको संस्थागत व्यवस्था भयो । पछि ललितपुर र भक्तपुरमा समेत वारुण यन्त्रको सेवा विस्तार हुँदै गयो ।
नेपालको दमकल इतिहासको सबैभन्दा रोचक पक्ष दमकल किन्नु होइन, त्यसलाई काठमाडौंसम्म ल्याउनु हो । आज कुनै गाडी विदेशबाट ल्याउँदा समुद्री बन्दरगाह, भन्सार नाका र राजमार्ग हुँदै गन्तव्यसम्म आइपुग्छ । त्यो समयको काठमाडौंसँग यस्तो सुविधा थिएन । मोटरलाई तराईबाट काठमाडौं उपत्यकासम्म गुडाएर ल्याउने सडक बनेकै थिएन । विदेशबाट आएको दमकल मकवानपुरको भीमफेदीसम्म आइपुगेपछि अगाडि मोटर होइन, मान्छे हिँड्ने बाटो थियो ।
त्यसपछि प्रविधिलाई मान्छेको काँधले बोकेको एउटा अनौठो अध्याय शुरु भयो । दमकलका पाटपुर्जा छुट्याइए । छुट्याउन मिल्ने भाग अलग गरिए । फलामका भारी सामान बोक्ने व्यवस्था मिलाइयो । अनि भीमफेदीबाट उकालो चढ्दै, पहाड काट्दै, घुम्ती र ओराली पार गर्दै ती सामान काठमाडौं ल्याइए । यहाँ आइपुगेपछि फेरि जोडेर दमकल तयार पारियो ।
कल्पना गर्दा पनि दृश्य असाधारण लाग्छ कि आगो निभाउन आएको आधुनिक मेसिन आफैं सडकमा गुड्न नपाएर मानिसको ढाड र काँध चढेर राजधानी प्रवेश गरिरहेको छ । सायद नेपालको आधुनिकताको प्रारम्भिक स्वरूप पनि यही थियो । प्रविधि विदेशबाट आउँथ्यो, तर त्यसलाई गन्तव्यमा पु¥याउन नेपाली श्रमले बाटो बनाउँथ्यो ।
त्यो बेला काठमाडौं आजको जस्तो थिएन । चक्रपथ थिएन, आकाश छुने अपार्टमेन्ट थिएनन्, सडकभरि सवारीको जाम थिएन तर शहरभित्र काठ र इँटाले बनेका घर थिए । बस्ती जोडिएका थिए । साँघुरा गल्ली थिए । एउटा घरबाट अर्को घरमा आगो फैलने जोखिम ठूलो थियो । यस्तो अवस्थामा दमकलको आगमन एउटा नयाँ सरकारी सेवाको शुरुआत मात्रै थिएन, विपद्सँग लड्ने सोचमा आएको परिवर्तन पनि थियो ।
पुराना दमकलको क्षमता आजका साधनसँग तुलना गर्दा सामान्य लाग्न सक्छ । जुद्ध वारुण यन्त्रमा रहेको पुरानो सानो दमकलले करिब ३५० लिटर पानी बोक्थ्यो । अहिले त्यो परिमाणले ठूलो शहरी आगलागी नियन्त्रण गर्ने कल्पना गर्न पनि कठिन हुन्छ तर प्रविधिको मूल्यांकन वर्तमानको आँखाले मात्रै गर्न मिल्दैन । जुन समयमा त्यो गाडी काठमाडौं आइपुगेको थियो, त्यतिबेला त्यही एउटा अत्याधुनिक साधन थियो ।
नयाँ दमकल थपिए । इन्जिन फेरिए । पानी बोक्ने क्षमता बढ्यो । पाइप, पम्प र उद्धार उपकरण आधुनिक भए । कुनै समय सबैभन्दा आधुनिक मानिएका गाडी क्रमशः पुराना भए । सडकमा उनीहरूको आवश्यकता घट्यो र इतिहासमा उनीहरूको महत्व बढ्दै गयो ।
अहिले वसन्तपुरको जुद्ध वारुण यन्त्रमा रहेको त्यस्तै पुरानो दमकललाई सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको छ । यसको अर्थ एउटा बिग्रिएको गाडीलाई सजाएर राख्नु मात्रै होइन । नेपालमा संगठित अग्नि नियन्त्रण सेवाको आरम्भलाई दृश्य रूपमा जोगाउने प्रयास हो ।
यसलाई अझ व्यवस्थित गर्न सके वसन्तपुरमा सानो तर महत्वपूर्ण अग्नि इतिहास संग्रहालय बन्न सक्छ । दमकलसँगै पुरानो साइरन, पानी फाल्ने पाइप, अग्नि नियन्त्रकले प्रयोग गर्ने पोशाक, हेल्मेट, पुराना तस्वीर, आगलागीका अभिलेख र विभिन्न कालखण्डमा प्रयोग भएका उपकरण राख्न सकिन्छ । भीमफेदीबाट पाटपुर्जा बोकेर काठमाडौं ल्याइएको बाटोको नक्सा राख्न सकिन्छ । कुन समयको दमकलले कति पानी बोक्थ्यो र आजको दमकलको क्षमता कति छ भन्ने तुलना देखाउन सकिन्छ ।
त्यसो भए एउटा पुरानो गाडी हेर्न गएको विद्यार्थीले नेपालको यातायात, शहरीकरण, प्रविधि र विपद् व्यवस्थापनको इतिहास एकै ठाउँमा पढ्न सक्छ । काठमाडौंमा मात्रै होइन, भक्तपुरमा पनि पुराना दमकल संरक्षणको प्रतीक्षामा छन् । त्यहाँका पुराना वारुण यन्त्र वर्षौंदेखि थन्किएका छन् । उपलब्ध विवरणमा तीनवटा पुराना दमकल रहेको देखिन्छ । कतिपयमा इन्जिन वा अन्य उपकरण परिवर्तन गरे फेरि चलाउन सकिने सम्भावना पनि हुन सक्छ तर यहाँ …चलाउनेÚ र …जोगाउनेÚ बीचको फरक बुझ्न जरुरी छ ।
हरेक पुरानो दमकल सडकमा फर्किनैपर्छ भन्ने छैन । एक सय वर्ष पुरानो साधनलाई आधुनिक दमकलको काम लगाउनु भन्दा उसको मौलिकता जोगाएर इतिहासका रूपमा सुरक्षित गर्नु कहिलेकाहीँ बढी मूल्यवान् हुन्छ । आज नयाँ दमकल किन्न सकिन्छ तर सय वर्षअघिको दमकल नष्ट भएपछि अर्को सय वर्ष पुरानो दमकल बजारबाट किनेर ल्याउन सकिँदैन ।
पुरानो इतिहास जोगाउने चर्चा भइरहँदा वर्तमानको प्रश्न भने अझ गम्भीर छ । आज नेपालसँग ७५३ स्थानीय तह छन् । पछिल्ला उपलब्ध विवरणअनुसार देशमा करिब दुई सयको हाराहारीमा दमकल रहेको देखिन्छ । विभिन्न स्रोतमा संख्या र सञ्चालन अवस्थाबारे केही फरक विवरण पाइने भएकाले …दमकल कति छन् ?Ú भन्दा …काम गर्न सक्ने अवस्थामा कति छन् ?Ú भन्ने प्रश्न बढी महत्वपूर्ण हुन्छ किनकि दमकलको संख्या र आगो निभाउने क्षमता एउटै कुरा होइन ।
कागजमा एउटा नगरपालिकासँग दमकल हुन सक्छ तर त्यसको इन्जिन बिग्रिएको छ भने ? चालक तत्काल उपलब्ध छैन भने ? पानी भर्ने स्थान टाढा छ भने ? तालिमप्राप्त अग्नि नियन्त्रक छैनन् भने ? साँघुरो गल्लीमा गाडी प्रवेश गर्न सक्दैन भने ?
त्यस्तो दमकल तथ्यांकमा हुन्छ, आगलागीको बेला हुँदैन । नेपालले अब दमकललाई एउटा गाडीका रूपमा होइन, सम्पूर्ण आपत्कालीन प्रणालीका रूपमा बुझ्नुपर्ने बेला आएको छ । दमकलसँग चालक, दक्ष अग्नि नियन्त्रक, नियमित तालिम, सुरक्षाका पोसाक, सञ्चार प्रणाली, पर्याप्त पानी, वैकल्पिक पानीका स्रोत र चौबीसै घण्टा परिचालन हुन सक्ने जनशक्ति जोडिनुपर्छ । त्यसमाथि नेपालको एउटै भूगोल छैन । काठमाडौंको असनमा चाहिने दमकल र तराईको औद्योगिक क्षेत्रमा चाहिने दमकल एउटै प्रकारको नहुन सक्छ । पुराना सहरका गल्लीका लागि साना र छरिता अग्नि नियन्त्रण सवारी उपयोगी हुन सक्छन् । अग्ला भवन बढेका क्षेत्रमा उचाइसम्म पुग्ने भ¥याङ र उद्धार उपकरण चाहिन्छ । पेट्रोलियम वा रासायनिक पदार्थ राखिने ठाउँमा पानी मात्र पर्याप्त हुँदैन । हिमाली र पहाडी क्षेत्रमा सडक नपुगेको बस्तीका लागि स्थानीय पानी स्रोत, पोर्टेबल पम्प र समुदायस्तरको तालिम झन् महत्वपूर्ण हुन्छ ।
त्यसैले हरेक पालिकाले …एउटा दमकल किन्यौँÚ भनेर जिम्मेवारी पूरा भएको ठान्ने सोच बदल्नुपर्छ । कतिपय साना पालिकाले एक्लाएक्लै दमकल किनेर ग्यारेजमा राख्नुभन्दा दुई–तीन पालिकाको बीचमा सुविधासम्पन्न अग्नि नियन्त्रण केन्द्र सञ्चालन गर्नु प्रभावकारी हुन सक्छ । जोखिम बढी भएका ठाउँ पहिचान गरेर त्यहीअनुसार उपकरण र जनशक्ति राख्न सकिन्छ ।
यसरी हेर्दा जुद्ध वारुण यन्त्रको पुरानो दमकल विगत सम्झाउने वस्तु मात्रै रहँदैन । करिब एक शताब्दीअघि नेपाल गरिब थियो, सडक थिएन, प्रविधिको पहुँच सीमित थियो तैपनि आगलागीको जोखिम देखिएपछि बेलायतबाट दमकल मगाइयो । बाटोले साथ दिएन, मानिसले काँध दिए । पहाडले रोक्यो, पार्टपुर्जा बनाएर पार गरियो ।
आज अवस्था ठीक उल्टो छ । सडक छन् । बजेट छन् । स्थानीय सरकार छन् । प्रविधि संसारभर उपलब्ध छ । सञ्चारको गति सेकेन्डमा झरेको छ तर अझै कुनै बस्तीमा आगो लागेपछि दमकल आउन अर्को पालिका वा अर्को जिल्लाको बाटो हेर्नुपर्ने अवस्था रहन्छ भने हाम्रो प्रगतिमाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ । सायद वसन्तपुरमा चुपचाप उभिएको पुरानो दमकलको सबैभन्दा ठूलो महत्व यही हो । उसले अब कुनै आगो निभाउने छैन । उसको साइरन फेरि बज्ला कि नबज्ला, पाङ्ग्रा सडकमा घुम्लान् कि नघुम्लान्, त्यो गौण विषय हो । उसले गर्नुपर्ने नयाँ काम शुरु भइसकेको छ कि हामीलाई आफ्नो इतिहास सम्झाउने ।
कुनै समय मानिसले दमकल बोकेर काठमाडौं ल्याएका थिए । अब प्रश्न दमकल बोक्ने होइन । इतिहासबाट सिकेको जिम्मेवारी हामीले कति बोक्न सक्छौँ भन्ने हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *