डोली नभित्र्याउन सडक विभागमा आन्दोलन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ स्थानीय पूर्वाधार विभाग (डोलिडार) का कर्मचारीहरु सडक विभागमा छिर्न नदिन गत जेठ ३० गतेदेखि सडक विभागका इञ्जिनियर, सिडिइ, सुइ, आयोजना प्रमुख, डिभिजन प्रमुख महानिर्देशक र उपमहानिर्देशकहरु बिहान १० बजेदेखि १२ः३० बजेसम्म विभागको प्राङ्गणमा पाल हालेर विरोध गर्दै आइरहेका छन् ।
सरकारले ल्याएको आ.व. २०७९÷८० को बजेट वक्तव्यमा डोलिडारका कर्मचारीहरु भौतिक पूर्वाधारमा समायोजन हुने घोषणा गरिएको थियो । असार महिनामा कामको चटारो छाडेर देशभरका इञ्जिनियर, डिइ, सुइहरु आन्दोलनमा उत्रिएपछि सडक निर्माणका काम ठप्प भएका छन् । भुक्तानीका फाइलहरु सबै अड्किएपछि निर्माण व्यवसायीहरुलाई १०४ डिग्रीको ज्वरो आएको जानकारहरुले बताएका छन् ।
डोलिडारका तीन सय बढी कर्मचारीहरु सडक विभाग आएमा वृत्तिविकासमा असर पर्ने आन्दोलनरत पक्षले जनाएको छ । हाल सडक विभागमा चार सय ५० जना प्राविधिक कर्मचारीहरुलाई २१ जना सुपरिटेन्डेन्ट इञ्जिनियर (सु.इ.) ले चलाइरहेका छन् । डोलिडारमा तीन सय बढी कर्मचारीहरुमा २२ जना सु.इ. रहेका छन् । डोलिडारका कर्मचारीहरुले २०७७ अन्तिममा दुई पटक दरबन्दी थपी बढुवा खाएको र अहिले खारेज हुने संस्थाको लागि थप विज्ञापन भइरहेको समाचार स्रोतले जानकारी दिएको छ ।
यता, सडक विभागले अझै सयजना इञ्जिनियरहरुको विज्ञापन लोकसेवाले मागेको जनाएको छ । प्रदेश सरकार वा स्थानीय तहमा व्यवस्थापन गर्नुपर्ने डोलिडारका कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरुको कथन छ । सामान्य प्रशासन मन्त्रालयमा प्रशासनका कर्मचारीहरुको मातहतमा बस्नुपर्ने भएपछि डोलिडारका प्राविधिक कर्मचारीहरु यता न उता बनेका छन् ।
डोली छिर्न नदिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सुइहरु र सिडिइहरु ज्यान छाडेर लागिपरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *