कम्युनिस्ट नेता घनेन्द्र बस्नेत रहेनन्

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ निधन भएको हो । बस्नेतको पार्थीव शरिरमा नेकपा -एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विहीबार श्रद्धाञ्जलि दिएका थिए ।
बस्नेत पछिल्लो करिब ६–७ महिनादेखि क्यान्सरसँग संघर्षरत रहेका बताइएको छ । २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा बस्नेतको जन्म भएको हो । आफ्नो राजनीतिक जीवनको ठूलो हिस्सा कम्युनिस्ट आन्दोलन र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा उनले बिताएका बताइएको छ । उनले करिब १६ वर्ष कारागार जीवन बिताउनुपरेको बताइएको छ । पञ्चायतविरुद्धको राजनीतिक संघर्षकै क्रममा २०३३ साल चैत १२ गते झापाका राजनीतिक बन्दीहरूले नख्खु कारागारबाट भाग्ने प्रयास गरेका थिए । त्यस घटनामा बस्नेत पनि सहभागी थिए । १५ जना राजनीतिक बन्दी जेलबाट बाहिरिन सफल भए पनि सबै सुरक्षित रूपमा उम्कन सकेनन् । केहीलाई विभिन्न स्थानबाट पुनः पक्राउ गरिएको थियो । बस्नेत भने जेलबाट निस्किएको चार दिनपछि पथलैयाको जंगलबाट पुनः पक्राउ परेका थिए ।
पछि कारागारबाट बाहिरिएपछि पनि उनले राजनीतिक सक्रियतालाई निरन्तरता दिएका थिए । कम्युनिस्ट आन्दोलनका विभिन्न चरणमा संगठन निर्माणदेखि पार्टी नेतृत्वसम्म उनले जिम्मेवारी सम्हाले । नेकपा -एमाले) मा उनी केन्द्रीय कमिटी सदस्यका रूपमा काम गरेका थिए । पछि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि केन्द्रीय सदस्यसँगै मोरङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि बस्नेत नेकपा एकीकृत समाजवादीमा आबद्ध भए । उक्त पार्टीमा उनले केन्द्रीय उपाध्यक्ष र तात्कालीन प्रदेश १ इन्चार्जको जिम्मेवारी सम्हाले । बस्नेतको संसदीय यात्रा पनि उल्लेखनीय रह्यो । उनी २०४८ र २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पछिल्लो समय भने उनी घनश्याम भुसाल नेतृत्वको राजनीतिक अभियानमा वरिष्ठ नेताका रूपमा सक्रिय थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *