रास्वपामा बढ्दो दूरी, थपियो सत्ताको संशय

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) भित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) बीचको सम्बन्धलाई लिएर पछिल्लो समय विभिन्न चर्चा हुन थालेका छन् । सार्वजनिक रूपमा दुवै नेताबीचको दूरीबारे स्पष्ट धारणा नआए पनि पार्टी र सरकार सञ्चालनका विषयमा फरक बुझाइ देखिन थालेको अनुमान राजनीतिक वृत्तमा हुन थालेको छ ।
यही पृष्ठभूमिमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको घटनाले सत्ता राजनीतिलाई थप तरंगित बनाएको छ । प्रहरीले सुरक्षा जोखिमका कारण उनलाई सुरक्षित स्थानमा लगिएको बताएको छ । उनलाई किन नियन्त्रणमा लिनुप¥यो र छोटो समयमै किन छाडियो भन्ने विषयमा उठेका प्रश्न अझै पूर्ण रूपमा स्पष्ट भएका छैनन् ।
जबरामाथिको कारबाहीलाई लिएर राजनीतिक वृत्तमा भने अनेक कोणबाट चर्चा भइरहेको छ । विशेषगरी नेकपा -एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाललगायतका नेताहरू वर्तमान सत्तासमीकरण परिवर्तनका लागि सक्रिय रहेको र त्यसैसँग जोडिएर जबरा प्रकरण अघि बढेको हुन सक्ने अड्कलबाजी भइरहेका छन् । यस्तो राजनीतिक जोडघटाउको स्वतन्त्र पुष्टि भएको छैन ।
घटनाक्रमले रास्वपाभित्रको नेतृत्व सम्बन्धलाई समेत चासोको विषय बनाएको छ । लामिछाने पार्टी संगठनका प्रमुख हुन् भने बालेनले सरकारको नेतृत्व गरिरहेका छन् । पार्टी र सरकारको जिम्मेवारी दुई फरक केन्द्रमा हुँदा निर्णय, प्रभाव र राजनीतिक प्राथमिकताबीच मतभेद उत्पन्न भए त्यसको असर समग्र सत्तासमीकरणमै पर्न सक्छ ।
अहिले देखिएको दूरी वास्तविक राजनीतिक मतभेद हो वा परिस्थितिले जन्माएको अस्थायी असमझदारी, त्यो स्पष्ट हुन बाँकी छ । जबरा प्रकरण र बाह्य राजनीतिक चलखेलको चर्चाबीच रास्वपाको आन्तरिक एकता परीक्षणमा परेको देखिन्छ । सत्ता जोगाउने चुनौतीभन्दा पनि नेतृत्वबीचको विश्वास कायम राख्नु रास्वपाका लागि आगामी दिनको ठूलो परीक्षा बन्न सक्ने देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *