पेल्दै वित्तीय संस्था, सरकार मुकदर्शक !

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनेन्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाका सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साँउ, ब्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिने लगायतका धम्की दिएको ऋणीहरु बताउँछन् । घरको द्वारमा ल्याएर चिठी टाँसिदिने भन्दै थर्काउने उनीहरुको भनाइ छ । कतिपयले घरमा गुण्डा पठाउने चेतावनीसमेत दिएको पाइन्छ । यता, महिनामा किस्ता तिरिरहेका कर्जावाललाई समेत वितीय संस्थाले दबाब दिन थालेको छ । धितोको मूल्य ह्वात्तै घटेपछि कर्जामा वितीय संस्थाले कडाइ गरेको छ ।
कि कर्जा घटाउनु कि त हामी लिलाम गरिदिन्छौं भनेर बैंक, फाइनेन्सले कर्जा खानेलाई धम्काइरहेको छ । आफ्नो कर्जाचुक्ता गरेर अर्को बैंकमा नामसारी गर्न उनीहरुले दबाब दिएको पाइन्छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो जायजेथो बैंक र सहकारीको नाममा राखेर धितो लिएको छ । हिजो धितो राखेर कर्जा दिने बेलामा वितीय संस्थाले पाँचदेखि २५ वर्षसम्मको अवधि तोकिदियो तर कर्जा लिएको वर्ष दिन नबित्दै ऋणीहरुलाई वितीय संस्थाले प्याकप्याकी बनाएको छ । बारम्बार कर्जा तिर्न वा धितो अन्त सार्न ऋणीलाई बाध्य बनाइएको छ । ऋणीहरु यतिखेर दुविधामा परेका छन् । ऋण तिरौं पैसा छैन । अन्त लैजाऔं कुनै बैंकले कर्जा दिँदैन । नयाँ बैंकमा करोडको धितो राखेर ४० लाखमा राखेर कर्जा पारित गरे पनि पुरानो बैंकले सार्न दिँदैन ।
पुराना बैंकको दाउ नै धितो पचाउनका निम्ति ऋणीलाई अर्को बैंकमा कर्जा सार्न पनि दिँदैन । उता कुरा मिलाएर आए पनि यताले भड्काइसकेको हुन्छ । बैंक र सहकारीको योजना करोडको माललाई ३० लाख दिने । पछि सम्पूर्ण धितो नै लिलाम गरिदिने । कर्जा लिनेलाई सडकमा पु¥याउने । वितीय संस्थाका कारण धेरै ऋणीहरु विस्थापित भइसकेका छन् । कतिपयलाई त आत्महत्या गर्न बाध्य बनाइएको छ । कर्जा तिर्न नसकेर आफ्नो गाउँघर नै छाडेर भाग्ने पनि उत्तिकै छन् । बैंकबाट हरेक जनता पीडित छन् किनकि उनीहरुले खुलेआम ठगिरहेका छन् । सरकार मुकदर्शक बनेर हेरिरहेको छ । दिउँसै जनता ठग्दा पनि सरकार किन हात बाँधेर बसेको छ ? त्यस्ता ठग संस्थाको दर्ता किन खारेज गर्दैन सरकार ? बैंक र सहकारीले गर्दा कति मानसिक रोगबाट पीडित छन् ।
घरमा जहिले पनि झगडा हुन त स्वाभाविकै भइसक्यो । बैंककै कारणले कति दम्पतीको छोडपत्रसमेत भएको घटनाहरु हाम्रो समाजमा छ । हिजो करोडको सम्पत्ति राखेर आधा रकम पनि दिएन । तीन किस्ता नतिर्ने बित्तिकै धितो नै खाइदिँदा करोडपति पनि रोडपति बनेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जनता ठग भनेर अनुमति दिएको हो ?
बैंक र सहकारीको यस्तो चर्तिकलाका कारण जनतामा अहिले चेतनाको विकास भएको छ । एउटाको पैसा अर्कोलाई ऋण दिने अनि घरखेत नै उडाइदिने । बैंकले ऋण दिएको रकम उसको खल्तीको हो । बीचमा बसेर पुलको भूमिका निर्वाह गरे जस्तै देखाएर जथाभावी लुट्न मिल्छ ? बचत गर्ने र ऋण लिने दुवैलाई बैंक र सहकारीले ठगेको छ । बचत गर्नेलाई कम ब्याज दिने तर त्यही पैसा महंगो ब्याजमा कर्जा लगानी गर्ने । त्यो पनि सेवाशुल्क र घुस लिएर ।
वितीय संस्थाको व्यवहारका कारण पछिल्लो समय रकम जम्मा गर्नेको सख्या ह्वात्तै घटेको छ । हाम्रो पैसा लगानी गरेर अर्कोलाई ठगिरहेको छ भन्ने कुरा जनताले राम्रोसँंग बुझेका छन् । कतिपय बैंक र सहकारीले अहिले पनि महंगो ब्याज दिन्छु भनेर जनतालाई प्रलोभन देखाइरहेको पाइन्छ । अब त्यस्ता विज्ञापन बजाएर जनता फसाउने दिन गइसकेका छन् किनकि जनता आफैं पनि वितीय संस्थाको विरोधमा उत्रिएका छन् ।
हिजोको दिनमा विज्ञापन गरेर लुटे पनि आजको अवस्था त्यस्तो छैन । साक्षरता दरमा मुलुक धेरै नै अघि बढिसकेको छ । दिनमा दुई गुणा र रातमा चार गुणा गरेर ठगीधन्दा मौलाउदै गएपछि सञ्चार माध्यमहरु पनि धमाधम कलम चलाउदै छन् । विज्ञापन आफ्नो ठाउँमा भए पनि जनताप्रति उनीहरु जिम्मेवार भएका छन् । जसले जनतामा चेतना फैलाइदिएको छ । अझै पनि थप कलम चलाउने हो भने अरु सिधासाधी जनता लुटिनबाट बच्छन् ।
बैंक र सहकारीका कारण करोडौं नेपाली सडकमा ओइरिने दिन आइसकेको छ । उनीहरुको घरबास नै अब सडकमा हुन्छ । यता, वितीय संस्थाहरुको पनि भागाभाग हुन धेरै बेर लाग्दैन । यसको जिम्मेवार अब कसले लिन्छ ? न राष्ट्र बैंकले लिन्छ न सहकारी विभागले । अर्थ मन्त्रालयले पनि यो विषयमा चासो देखाएको छैन । दैनिक दर्जनौं सहकारीहरु बन्द भइरहेका छन् । अहिले बैंकको अवस्था यति नाजुक छ कि खातामा भएको पाँच लाख रुपियाँ पनि दिन सक्दैन ।
यता, सहकारीले त एक लाखको चेक पनि साट्न छोडेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष र प्रबन्धक भेट्न हम्मेहम्मे छ । उनीहरु आफ्नो कार्यकक्षमा हँुदैनन् । गार्ड र अन्य कर्मचारी भए पनि जिम्मेवार व्यक्तिहरु भने बेपत्ता जस्तो अवस्थामा पाइन्छन् । आपूm कार्यालय नआए पनि बजार प्रतिनिधि खटाएर पैसा उठाउन चाहिँ छाडेका छैनन् । बुझ्नेले त पैसा राख्दैन् तर अहिलेको अवस्थाबारे ज्ञान नभएकालाई उनीहरुले मुर्गा बनाइरहेका छन् ।
बैंक र सहकारी यसरी धरासायी हुनुको मुख्य कारण विश्वासनियता गुमाउनु हो । बैंकले १५ प्रतिशत र सहकारीले १९ प्रतिशत ब्याज दिन्छु भने पनि जनताले अनदेखा गरे । ब्याजको लोभमा परेर साँउ नै डुब्ने डर जनतामा अझै पनि छ । जसले गर्दा बैंकसंँग कर्जा लगानी गर्ने पैसा छैन । अहिले पनि कर्जा लगानी ठप्प छ । कर्जा लगानी गर्दा सेवाशुल्क, घुस आउँथ्यो र पो मोजमस्ती गरिरहेका थिए । अहिले वितीय संस्थाले घरभाडासमेत तिर्न सकेका छैनन् । तीन महिनादेखि भाडा तिर्न नसकेको वितीय संस्था पनि छन् । कर्मचारीहरु पनि तलबविहीन बनेका छन् ।
यस्तो तरलता बढ्दा पनि वितीय संस्थाले यो कुरा लुकाउन खोजिरहेको छ । सरकार र जनता दुवैले सुइँको पनि नपाउन भनेर उनीहरुले गोपनियता कायम गर्न खोजिरहेका छन् । सरकारी पक्ष वितीय संस्थाको अहिलेको अवस्थाबारे अनविज्ञ छ किनकि उनीहरु अनुगमन गर्न जाँदैनन् । सरकारलाई नै थाहा नभएको कुरो जनताले के पत्तो पाउन् !
न जनताले कागजपत्र हेर्ने । जनताले थाहा पाउँछन् भनेर उनीहरु जतिसक्दो आफ्नो कमजोरी ढाक्न खोज्छन् । किराना पसलमा जति पनि व्यापार छैन, वितीय संस्थाहरुमा । किरानामा फाट्टफुट्ट भए पनि सेवाग्राही त आउँछन् । बिहान आउने कार्यालय खोल्ने, बेलुका बन्द गर्ने हिंड्ने कार्यमा धेरैजसो वित्तीय संस्थाहरु रहेका देखिन्छन् । कर्मचारीहरु नै कामविहीन बनिसकेका छन् । नगद जम्मा गर्न कोही आउँदैन । कर्जा दिन पैसा छैन । वितीय संस्थाको प्रमुख काम यही त हो । आफ्नो पैसा वितीय संस्थामा लगेर राखेको छ भनेर ढुक्क भएर नबसौं । जनता आफंै पनि चनाखो हुने बला भइसकेको छ । भुरादेखि बुढासम्मको खाता खोल्ने भनेर वितीय संस्थाले नयाँनयाँ जनता ठग्ने योजना बाहिर ल्याइरहेका छन् ।
पछिल्लो समय नेपालमा व्यापार घाटा बढ्दो छ । कोरोनाका कारण व्यापार ठप्प भएको छ । जसको कारण घरजग्गा, सेयर र गाडीको खरिदबिक्री स्वाटै घट्यो । दलालहरुको पछि लागेर लगानी गर्दा सबै चुलुम्मै डुबे । यी क्षेत्रमा लगानी गर्ने डुब्ने बित्तिकै वितीय संस्था धरासायी बन्यो । बैंक र सहकारीसंँगै जनताको उठीबास हुने भो । सरकारले दलालीलाई नियन्त्रण गर्न नसक्दा सबै तहसनहस बन्यो । बैंक र सहकारीलाई अब सरकारले पनि बचाउन सक्दैन । कर्जा खाने व्यक्ति डुब्ने बित्तिकै बैंक–फाइनेन्स पनि सिद्धिने निश्चित छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *