सुजाता र शेखर गुटलाई बालुवाटारमा तगारो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याई प्रतिस्पर्धी बनेका शेखर कोइराला गुटलाई वास्ता नगरी राजनीतिबाटै किनारा लगाउने हिसाबले अघि बढेको काँग्रेसवृत्तमा चर्चा चलेको छ । उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता तथा सरकारमा गृहमन्त्री बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की हावी भएपछि उक्त चर्चा चलेको छ ।
शेखर गुटका मान्छेहरुलाई गलाउन नसकेपछि कोइराला परिवारकी काँग्रेस नेतृ सुजाता कोइरालालाई बालुवाटारमा तगारो लगाइएको छ । खासगरी प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाप्रति नेतृ कोइराला रुष्ट र आक्रोशित बनेकी छिन् । स्वकीय सचिव भानु देउवाले अपोइन्टमेन्ट नदिने, फोन गरे फोन काटिदिने र सम्पर्क भई हाले पनि आलटाल गर्ने कारणले सुजाता आक्रोशित बनेको बताएकी छिन् ।
नेतृ कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशनमा आफ्नै दाजु शेखर कोइरालालाई सहयोग नगरी प्रधानमन्त्री देउवालाई सहयोग गरेकी थिइन् । देउवाले सुजातालाई मन्त्री बनाइदिने आशा देखाएर जिल्लाएको काँग्रेसीहरुले बताएका छन् । आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं.२ बाट काँग्रेसको उम्मेदवार बन्ने उद्घोष गरेकी सुजातालाई देउवा गुटले म्याद सकिएको औषधि ठानेपछि दूरी बढेको हो ।
कोइराला परिवारहरुमध्ये शशांकबाहेक देउवा गुटले शेखर र सुजातालाई महत्व दिन छोडेको छ । यसरी आफ्नै दलभित्र गठबन्धन र एकता कायम गर्न नसके देउवाले आगामी संसदीय निर्वाचनमा बहुमत कसरी ल्याउलान् भन्ने चर्चा काँग्रेसमा टड्कारो रुपमा चलेको छ । शक्ति र गलत मान्छेहरुको घेराबन्दीमा पर्दा एमाले अध्यक्ष बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेजस्तै देउवा पनि बालुवाटारबाट बूढानीलकण्ठ नपुग्लान् भन्न सकिन्न । अहिले जिल्ला–जिल्लाबाट आएका काँग्रेस नेता तथा महासमिति सदस्यहरुले प्रधानमन्त्री अन्य काँग्रेसका मन्त्रीहरुलाई भेट्न नसकेपछि यस्तै गुनासाहरु व्यक्त गर्ने गरेका छन् । बालुवाटारमा स्वकीय सचिवको आतंक बन्द हुनुपर्ने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *