खानेपानी विभाग र रेलका डिजी अवकाश हुँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ पर्सि श्रावण ९ गतेबाट खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्य कँडेल अनिवार्य अवकाश हुने भएका छन् । असारे विकासको खेतीपाती थन्क्याएर घर जान लागेका कँडेललाई खानेपानी मन्त्री उमकान्त चौधरीले २०७८ फागुनको तेस्रो साता महानिर्देशक बनाएर पठाएका थिए ।
कँडेलभन्दा अगाडि तत्कालीन खानेपानी मन्त्री मणि थापाको समयमा सचिव रहेका माधव बेल्बासे (हाल लोकसेवा आयोगको सदस्य) ले अवकाश हुन दुई दिन मात्र बाँकी हुँदा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीलाई खानेपानी तथा ढल निकास विभागको महानिर्देशक बनाएर पठाएका थिए । २०७८ वैशाखमा डिजी बनेका खत्रीलाई ९–१० महिनापछि मन्त्री चौधरीले मन्त्रालय तानेका थिए । खत्रीभन्दा अगाडि विभागको महानिर्देशकमा मीना श्रेष्ठलाई तत्कालीन खानेपानी मन्त्री बिना मगरले पठाएकी थिइन् ।
निलम्बित अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी योजनालाई खानेपानी तथा ढल निकास विमागमा गाभेपछि आकर्षक बजेटसहित विभागको क्षेत्राधिकार ठूलो बनेको छ । अब विभागको महानिर्देशक बन्ने व्यक्तिले बजेटको चलखेल गर्न पाउने छन् ।
यस्तो मौकामा खाली बनेको विभागको महानिर्देशकका लागि मन्त्री चौधरीले निःशुल्क वा सशुल्क डिजी कसलाई बनाउलान् भन्ने चर्चा चलेको छ । हाल विभागको डिजीका लागि तीनजनाको नाम चर्चामा आएको छ । जसमा ‘टेस्टेड’ भइसकेका खत्री, श्रेष्ठ तथा नयाँका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रमाकान्त दुवाडी रहेका छन् ।
केही सहयोग मन्त्रीलाई गरेर जाने मनस्थितिमा खत्री छन् भने मन्त्री चौधरीले चार महिनापछि हुने संघीय निर्वाचनका लागि मोटो रकम अफर गरेको जानकारहरुले बताएका छन् । खत्री र श्रेष्ठबाट भन्दा दुवाडीबाट फाइदा लिने र डिजी बनाउने सोचमा मन्त्री चौधरी रहेकाले उनलाई मन्त्रालय सरुवा गरी खानेपानी तथा ढल निकास विभागको महानिर्देशक बनाइएको छ । दुवाडीको ठाउँमा भौतिक सहसचिव केशव शर्मालाई पठाइएको छ ।
यता, मन्त्री चौधरीको नाम भजाउँदै काँग्रेसनिकट कर्मचारी युनियनले आफ्ना आसेपासे, नातागोतालाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा भर्ना गरी मन्त्री चौधरीको कार्यकर्ताहरुलाई ‘माछो–माछो भ्यागुतो’ बनाइरहेका छन् । मन्त्री चौधरी बेखबर छन् ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागका महानिर्देशक दीपक भट्टराई पनि यही श्रावण १८ गतेबाट अवकाश हुने भएपछि रेलको डिजी बन्ने पात्रको खोजी भएको छ । स्रोत नभएको ठाउँमा सम्भावना मन्त्रालयका सहसचिव शिव नेपालीको डिजी बन्ने स्रोतले बताएको छ । नेपाल १० महिनापछि अनिवार्य अवकाश हुँदैछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *