राजश्व सचिवमाथि तलबमान चलखेलको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / करको दायरा हेरफेर गरेको प्रकरणमा नैतिक प्रश्न उठे पनि लाज र अप्ठ्यारो नमानी अर्थमन्त्रालयमा हैकम चलाएर फुर्तीका साथ बसेका छन्, राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण । यिनै बेसरम् र नैतिकहीन राजश्व सचिव पुष्करलाई गत श्रावण १९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।
नैतिकहीन बने पनि उनी जसरी पनि अर्थसचिव बन्न लबिङ्ग बढाउँदै शक्तिकेन्द्र चहार्न व्यस्त रहेका छन् । पुष्करको दाउ सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव रामेश्वर दङ्गाललाई राजश्व सचिव बनाएर आपूm अर्थसचिव बन्ने रणनीतिमा जोडतोडले लागेका छन् ।
गत १५ श्रावणमा मन्त्रालय फर्किएका अर्थमन्त्री जनार्दन शर्मालाई खादा–माला लगाएर न्यानो एवं भव्य स्वागत गरेका थिए । स्वागत र सत्कारबाट प्रभावित अर्थमन्त्री शर्मा पुष्करलाई अर्थसचिव बनाउन सकारात्मक रहेपछि अहिले बालुवाटारलाई रिझाउन लागिपरेको समाचार स्रोतले बताएको छ । अर्थतन्त्रका बारेमा शून्य ज्ञान भएका सचिव पुष्कर गत जेठ १४ गते रातिको प्रकरणमा अर्थसचिवभन्दा बढी जिम्मेवार रहेका बताइएको छ ।
शक्तिकेन्द्र वरपर घुमेर अवसर लिँदै आएका राजश्व सचिव पुष्करले कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा आफैँलाई प्रमुख आयुक्त ठानी सबैलाई तर्साएर र धम्क्याएर आतंकित पारेका थिए । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई सिध्याएको आरोप पुष्करमाथि लागेको छ । २०७८ असार २४ गते सचिवमा बढुवा भएका पुष्कर डेढ महिनामै अर्थ मन्त्रालयको राजश्व सचिव बनेका थिए ।
यसअघि उनी गृहसचिव बन्ने कोसिस गरे पनि सफल हुन नसकी राजश्व सचिव बनेको जानकारहरुले बताएका छन् । बैदेशिक रोजगार विभागको महानिर्देशक हुँदा म्यानपावर कम्पनीहरुसँग अवैध असुलीधन्दामा लागेको थाहा पाएपछि तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए । निजामती सेवामा उपसचिव हुँदादेखि नै विवादास्पद छवि बनाएका राजश्व सचिव पुष्करले नै कर्मचारीहरुको तलबमानमा चलखेल गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
गत श्रावण १५ गते संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थसचिवको समेत जिम्मेवारी सम्हालेका पुष्करले विभेदपूर्ण तरिकाको तलबमानमा सही गरेर पठाएका थिए । बजेट भाषणमा सरकारले १५ प्रतिशत मात्रै तलब वृद्धि गर्ने घोषणा गरेको थियो । साउनबाट लागू हुने तलबमानमा अर्थले शाखा अधिकृतको तलब २४ प्रतिशत, उपसचिवको २३.३, सहसचिवको २३.३ र सचिवको १८.४ प्रतिशतले तलब वृद्धि गरेपछि तलबमानमा असमान भयो भन्दै देशभरका नायब सुब्बाहरुले हड्ताल गरेका छन् ।
कर्मचारीका नेताहरुले अर्थमन्त्रीलाई भेटेर विरोध जनाएपछि तलबमान १५ प्रतिशतले नै वृद्धि हुने बताएका छन् । नयाँ तलबमानअनुसार सुब्बा र अधिकृतबीच १० हजार फरक परेपछि सांसद्हरुले समेत विरोध जनाएका छन् । तलब २४ देखि २६ प्रतिशतसम्म वृद्धि गरेपछि देशका नायब सुब्बहरु आन्दोलित भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *