शैलुङ र पप्पुलाई ठीक पार्लान् त मन्त्री राईले ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई ठीक पार्ने चेतावनी दिँदै नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तै गरेका छन् ।

मन्त्री राईले प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेताको नाम लिएर ठेकेदारहरुले दादागिरि गरेको आरोप लगाएका छन् । अहिले ठेक्का लिएर मोबिलाइजेसन लिई वर्षौंसम्म सडक अलपत्र पार्नेमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र जनता समाजवादी पार्टीको निलम्बित सांसद् हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन मुख्य छन् । अन्य साना निर्माण व्यवसायीहरु पनि थुप्रै रहेको समाचार स्रोतले बताएको छ ।

साना निर्माण व्यवसायीहरुमध्ये ठेक्का हात पारेर दुःख दिनेमा कोशी एण्ड न्यौपाने सिद्धिसाई, सिरुवा कन्स्ट्रक्सन र होमनाथ कोइरालाको बिडोई बिल्डर्स रहेका छन् । नेताहरुको आडमा बेथिति निम्त्याउने यी र अरु पनि थुप्रै ठेकेदारहरुको खोजी गरेको मन्त्री राईले आफ्नै दलका निलम्बित सांसद् रौनियारको पप्पु कन्स्ट्रक्सनले विकास निर्माणमा (सडक र पुलको ठेक्का) गरेको ज्यादतिबारे बेखबर छन् र पप्पु एवं शैलुङलाई कारबाही गर्ने आँट मन्त्री राईमा छैन ।

यी दुईजना ठेकेदारलाई कारबाहीको प्रक्रिया अघि बढाए मन्त्री राईको कुर्सी हल्लिन्छ । भौतिक मन्त्री खानकै लागि बाबुराम भट्टराईलाई छाडेर अध्यक्ष उपेन्द्र यादवको कित्तामा हामफालेका मन्त्री राईले मन्त्रालयको क्यान्टिन कार्यकर्ताहरुको लागि बिहानको खाना र दिउँसोको खाजा निःशुल्क गरेको मन्त्रालयमा चर्चा चलेको छ ।

अब चुनाव आउन तीन महिना मात्र बाँकी रहँदा मन्त्री राईले सडकका कर्मचारीहरु र ठेक्कापट्टाबाट चुनाव खर्च निकाल्ने सपना देखेका छन् । अबको डेढ महिनापछि दशैँ–तिहार जस्तो नेपालीहरुको महान् चाड शुरु हुने र त्यसपछि निर्वाचनको माहौल तात्ने भएकाले मन्त्री राईको सपना ‘माछो–माछो भ्यागुतो ’मा परिणत हुने जानकारहरुले बताएका छन् । नारायणघाट–बुटबल खण्डको सडकको दुर्दशा हल गर्न नसकेका मन्त्री राईले ठेकेदारलाई ठीक पार्छु भन्नु सूर्यलाई हत्केलाले छोप्नुजस्तै भएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *