सडकमा डिजीको प्रस्तावपछि सु.ई.हरुको व्यवस्थापन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचजना कन्र्फम र का.मु सुपरिटेण्डेन्ट इन्जिनियर (सु.ई) हरुको सरुवा गरेको छ । गत भाद्र २ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो ।
सु.ई.हरुलाई करिडोरमा नराख्न सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले मन्त्री मोहम्मद इस्तियाक राई र सचिव गोपाल सिग्देललाई प्रस्ताव गरेपछि डिजी थापाको प्रस्ताव सुनुवाई भएको बताइएकोछ । सु.ई.हरुको उचित व्यवस्थापन नहुँदा केही सुईहरुले महिनौसम्म करिडोरमा हाजिर गर्न बाध्य भएका थिए ।
सरुवा भएका सुईहरुमा सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट को–अडिनेटर रोहित विसुराललाई रेल विभागको महानिर्देशक, सडक सुधार तथा विकास आयोजनाको प्रमुखमा मन्त्रालयका युवराज ढकाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पूर्वाञ्चलमा प्रेम प्रकाश खत्री, पूर्वाञ्चल संघीय सडकका का.मु. सुई ज्ञानेन्द्र झालाई भौतिक मन्त्रालय र उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजनामा मन्त्रालयका श्याम खड्कालाई पठाइएको छ । यस अगाडि सडक विभागका उपमहानिर्देशक (सम्भार महाशाखा) प्रभात झा मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा र विभागको सम्भार महाशाखामा टनेल मार्गका नरेश कुमार शाक्यलाई र शिव नेपाललाई मन्त्रालयको बैदेशिक महाशाखामा सरुवा गरिएको थियो ।
रेल विभागको महानिर्देशकमा नेपाल र मध्यपहाडी (पुष्पलाल) लोकमार्गका हरिकुमार पोखरेलको चर्चा चले पनि विसुरालले बाजी मारेका छन् । हाल व्यवस्थापन हुन बाँकी सु.ई. नवीनमान श्रेष्ठलाई आगामी असोज ६ गतेबाट अवकाश हुन लागेका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठको ठाउँमा पठाइने समाचार स्रोतले बताएको छ ।
करिडोरमा हाजिर गर्दै आएका सु.ई. पूर्वकुमार राईलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । अझै पनि सडक विभागमा हुलाकी राजमार्ग आयोजना, बनेपा सिन्धुली र टनेल मार्ग गरी तीनजना सु.ई.को पद खाली छ । जसमध्ये हुलाकी राजमार्ग निर्देशनालय र बनेपा सिन्धुली रहेका छन् ।
अब मन्त्रालयले दुई वर्ष पुगेका डिभिजन सडक र सडक योजनामा का.मु. भै खाएका इन्जिनियरहरुको सरुवा गर्ने तयारी गरेको छ । डिभिजन सडकमा भक्तपुर, झापा, नेपालगञ्ज, बैतडी रहेका छन् भने योजनामा १०–११ वटा रहेका समाचार स्रोतले बताएको छ । यसमध्ये डुम्रेवेसी–चामे सडक, कालीगण्डकी करिडोर, भेरी, महाकाली, कोशी, सेती र खटिया दीपायल लगायत छन् । यी योजनाहरुमा लोकसेवा उत्तीर्ण गरेर आएकाहरुलाई पठाइएको स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *