एक बोतल ह्विस्कीको मूल्य ३६ करोड !

Nayabimarsha (Weekly Newspaper from Nepal)

एजेन्सी/ लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपियाँमा विक्री भएको छ । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा पुरानो ह्विस्की हो । ह्विस्कीले अपेक्षा गरिएको भन्दा दोब्बर मूल्य पाएको समाचार एजेन्सीले जनाएको छ ।
यो लिलामीमा सदबीले म्याकलानको सो बोतल नौ लाख ३४ हजार डलरदेखि १४ लाख डलरसम्म बिक्ने आशा गरेको थियो । लिलाम बढाबढमा सो बोतलको मूल्य बढेर २७ लाख २४ हजार नौ सय ६७ डलरसम्म पुग्यो । लिलामीमा कुनै पनि स्पिरिट वा वाइनको बोतलले यति धेरै मूल्य पाएको यो पहिलो पटक रहेको बताइएको छ ।
लिलामीअघि सदबीजका ह्विस्की जोनी फाउलका प्रमुखले एक थोपा ह्विस्की चाखेका थिए । चाखेपछि उनले ह्विस्कीलाई अतुलनीय भन्दै यसलाई हल्कामा लिन नहुने बताएका थिए । ६० वर्षसम्म शेरी काष्कमा राखेर सन् १९८६ मा म्याकालनले ४० ओटा बोतलमा ह्विस्की भरेको थियो । ४० ओटा बोतलमध्ये एउटै पनि कम्पनीले बेचेन । केही बोतल कम्पनीले आफ्ना शीर्ष ग्राहकलाई उपहार स्वरूप दिएको थियो ।
बाँकी बोतललाई कम्पनीले बेला बेलामा लिलाम विक्री गरिरहेको छ । हरेक पटकको लिलाम विक्रीमा यसले आफ्नै विक्रीको रेकर्ड तोडिरहेको छ । सन् २०१९ मा म्याकालन १९२६ को एउटा बोतल लिलामीमा १९ लाख डलरमा विक्री भएको थियो । यो त्यतिबेलाको सबैभन्दा महँगो ह्विस्की बनेको थियो । सोको रेकर्डलाई यस वर्ष म्याकालान १९२६ को अर्को बोतलले तोडिदिएको छ । कम्पनीले ४० ओटा बोतलमध्ये २ ओटा बाहेक अरु सबैमा फरक फरक खालको लेबल राखेको थियो ।
म्याकालन १९२६ को १२ ओटा बोतलमा इटलेली पेन्टर भालेरियो अदामीको लेबल थियो । शनिबार कीर्तिमानी मूल्यमा बेचिएको म्याकालान १९२६ पनि यहीमध्ये एउटा थियो । अब अदामीको लेबल भएको कति ओटा ह्विस्कीको बोतल बाँकी छ भन्ने अज्ञात छ । एउटा भने सन् २०११ मा जापानमा गएको महाविनाशकारी भूकम्पमा परेर नष्ट भएको अनुमान गरिएको छ । अर्को एउटा चाँहि खोलेर कसैले खाइसकेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *