सडकका हाकिम चोक्टा खोज्दा झोलमा डुबे

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सडक विभाग अन्तर्गतका डिभिजन प्रमुख र योजना प्रमुखहरु चोक्टा खान खोज्दा झोलमा डुबेको चर्चा चलेको छ । गत २०८० भदौ २६ गते भएको सरुवामा शक्तिकेन्द्रको चलखेल गरी आकर्षक योजना र डिभिजन कार्यालयहरुमा सरुवा भएका हाकिहरु यतिबेला बजेटको अभावमा सडक विभाग र अर्थ मन्त्रालय धाउन थालेका छन् ।
निर्माण व्यवसायीहरुले कार्यालय घेराउ गर्न थालेपछि योजना तथा डिभिजन प्रमुखहरु समस्यामा परेका छन् । गत आ.ब.को ठेक्का दायित्व तथा चालु आ.ब.मा भएको कामको भुक्तानी हुन नसक्दा निर्माण व्यवसायी लगायत निर्माणसँग सम्बन्धित विभिन्न संस्थाहरु समस्याग्रस्त बन्न पुगेको समाचार स्रोतले बताएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सचिव केशवकुमार शर्माले बजेट निकासाका लागि पहल गरे पनि अर्थ मन्त्रालयले वास्ता नगर्दा गत आ.ब.को दायित्व केही बाँकी र चालु आ.ब.मा भएका कामको भुक्तानी गर्न बजेट नहुँदा निर्माण व्यवसायीले ठेक्काप्रति चासो लिएका छैनन् । म्याद थपमा पनि सरकारले ठोस निर्णय नगरेका कारण निर्माण व्यवसायीहरु मरिच झैं चाउरिन बाध्य भएका छन् । निर्माणको काम नहुँदा इन्धन, सिमेन्ट, डण्डी, बालुवा गिजी जस्ता निर्माण सामाग्रीको भुक्तानी हुन नसक्दा सप्लायर्सहरु र उत्पादनकर्ता पूर्ण संकटमा परेको जानकारहरुले बताएका छन् ।
निर्माण व्यवसायीको दायित्व भुक्तानी गर्न नसक्दा बैंक, वित्तीय संस्था तथा उत्पादनकर्ताको स्थिति पनि नाजुक बन्दा समग्र आर्थिक गतिविधिमा अपूरणीय असर परेको छ । त्यतिमात्र हैन निर्माण व्यवसायीहरुको बिल रकम भुक्तानी हुन नसक्दा ज्यालादारी मजदुरी, जनता र निर्माण व्यवसायी तथा उद्योगहरुको सरकार प्रति दिनानुदिन विश्वास घटन थालेको छ । जसका कारण बौद्धिक जमात सक्षम युवायुवती विदेश पलायन हुन बाध्य भएको र यस्तो प्रचलन दिनानुदिन बढिरहेको प्रमाण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ भने ज्याला, मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने वर्गको चुलो बन्द हुने अवस्था छ ।
सडकका योजना प्रमुख, डिभिजन प्रमुख र विभागका उच्च ओहदाका कर्मचारीहरुलाई सडकको जागिर नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छो बाबुको अनुहार बनेको सरोकारवालाहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *