भौतिक नपाए ऊर्जा सचिव बन्ने सिग्देलको जोड

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालयका सचिवबाट दिनेश घिमिरेले राजिनामा दिएपछि हाल ऊर्जा सचिवको पद रिक्त छ । प्राविधिक सचिव मानिने ऊर्जा सचिवमा सरुवा हुनका लागि सिचाई सचिवमा कार्यरत गोपालप्रसाद सिग्देलको व्यापक दौडधूप चलेको भएता पनि उनको प्राथमिकतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको समाचार स्रोतले बताएको छ ।
सचिव सिग्देल भौतिक मन्त्रालयको सचिव बनिसकेकाले फेरी दोहोरिन शक्तिकेन्द्र धाएको श्रोतले बताएको छ । यता भौतिक सचिव केशवकुमार शर्मालाई विभिन्न आरोप लगाएर विवादमा पार्न खोजिएको छ । सचिव शर्मा सडक र मन्त्रालयको बारेमा जानकार मानिन्छन् ।
निर्माण व्यवसायीहरुको रकम भुक्तानी हुन नसक्दा केही ठेकेदारहरुले शर्मालाई हटाउन चलखेल गरेको समाचार श्रोतले बताएको छ । उता, भौतिक मन्त्रालयको सचिवमा सरुवा नभए सिग्देल ऊर्जा सचिव बन्न दौडधूप गरेका छन् । कुनै बेला बुढानिलकण्ठ निकट मानिने सचिव सिग्देल हाल ऊर्जामन्त्री शक्ति बस्नेतको प्रीय बनेको जानकारहरुले बताएका छन् ।
यता सिंचाई सचिब बन्नका लागि मणिराम गेलाल, प्रमिला बज्राचार्य, सुरेश आचार्य हालै सचिवमा बढुवा भएका विश्वबाबु पुडासैनी र सरिता दुवाडीमध्ये कस्ले बाजी मार्ला भन्ने चर्चा चलेको छ । हाल खानेपानी मन्त्रालयको सचिवमा कार्यरत रामआधार साह पनि खानेपानी मन्त्रालयमा बस्न नचाहेको र अन्यत्र फड्को मार्न चाहेको चर्चा चलेको छ । वरिष्ठ सचिवहरुमध्येबाट सिंचाई सचिव बनाउनुपर्ने भएकाले मुख्यसचिव बैकुण्ठ अर्यालको नाता पर्ने सचिव दुवाडी ट्वाँ पर्ने सिंहदरबारमा चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *