राधेश्यामको स्मृतिमा प्रतिष्ठान बनाइने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाली साहित्यमा योगदान दिई अमर अवस्थामा रहेका साहित्यकार राधेश्याम भट्टराईको स्मृतिमा परिवारजनले प्रतिष्ठान (गुठी) को स्थापना गर्ने भएका छन् । राधेश्याम भट्टराईको स्मृतिमा निकालिएको स्मृति ग्रन्थको लोकार्पणको समयमा परिवारजनले सो घोषणा गरेको हो ।
‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’ तीर्थकाव्यको तेस्रो संस्करणको लोकार्पणको अवसरमा भट्टराई परिवारका सदस्य मनिष भट्टराईले कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै उक्त घोषणा गर्नु भएको हो । उहाँले राधेश्याम भट्टराई र उहाँकी धर्मपत्नी कल्पना भट्टराईको निधन भैसकेको तथा उहाँहरुकी एकमात्र सन्तान निशा पनि जिवित नरहेको अवस्थामा उहाँहरुको स्मृतिमा प्रतिष्ठान (गुठी) संचालन गर्ने निर्णयमा परिवारजन पुगेको जानकारी दिनु भयो ।
नेपाली साहित्य र प्रशासनिक क्षेत्रमा राधेश्याम भट्टराईको योगदान रहेको स्मरण गर्दै भट्टराई परिवारका अर्का सदस्य एवम् गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईले राधेश्याम र कल्पना भट्टराईको नाममा रहेका भौतिक सम्पत्तिको समेत व्यवस्थापन गर्नुपर्ने जिम्मेदारी परिवारजनमा आएकाले त्यसको व्यवस्थापनको लागि सामाजिकस्तरबाट सुझाव, सल्लाह प्राप्त होस् भन्ने अपेक्षा राख्नुभयो । पैतृक तथा स्वआर्जनको रुपमा राधेश्याम र कल्पना भट्टराईसँग सम्बन्धित भौतिक सम्पत्तिहरुमध्ये संग्रहणीय सामानहरु प्रतिष्ठानअन्तर्गत संरक्षित राखिने तथा अन्य भौतिक सम्पत्तिहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने सोचमा परिवारजन पुगेको सो अवसरमा जानकारी गराइयो । खासगरी राधेश्याम भट्टराईको साहित्यप्रतिको योगदानलाई जिवन्त राख्नका लागि उहाँहरुको नाममा रहेका भौतिक सम्पत्तिहरुको व्यवस्थापनको क्रममा उहाँहरुको नाममा प्रतिष्ठान संचालन गरी ती सम्पत्तिलाई सामाजिक कार्यमा समेत लगाउने कुरा जानकारी गराइयो ।
गएको शुक्रबार बानेश्वर क्याम्पसको सभाकक्षमा आयोजित लोकार्पण कार्यक्रममा राधेश्याम भट्टराईले आफ्नो जीवनकालमा प्रकाशन गर्नुभएको ‘हलेसी’ तीर्थकाव्यलाई त्रिभाषा (नेपाली, संस्कृत र अंग्रेजी) मा प्रकाशन गरी लोकार्पण गरिएको थियो । यसैगरी गत वर्ष निधन हुनुभएका राधेश्याम भट्टराईको स्मृतिमा प्रकाशित ‘सम्झनामा राधेश्याम’ को लोकार्पण वरिष्ठ साहित्यकार डा. तुलसी दिवसले गर्नुभएको थियो ।
साहित्यकार एवम् बानेश्वर क्याम्पसका प्राचार्य प्रा.डा.केदार न्यौपानेको अध्यक्षमा भएको सो समारोहमा पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वसचिवद्वय शरद्कुमार भट्टराई र गोपी न्यौपाने, डा. बद्रीविशाल भट्टराईले राधेश्याम भट्टराईको विषयमा आफ्नो धारणा राख्नु भएको थियो । यसैगरी साहित्यकार लव गाउँले, शिक्षा भट्टराई, स्मारिका भट्टराई लगायतले स्व.भट्टराईलाई आ–आफ्नो ढंगबाट स्मरण गरेको सो समारोहमा साहित्यकार महेश प्रसाईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *