भौतिक पूर्वाधार मन्त्रीसँग प्रधानमन्त्री रुष्ट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग रुष्ट बनेका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’ बाट निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड र मुग्लिन–पोखर सडक खण्डको ‘भर्चुअल’ निरीक्षण गरेपछि उनी रुष्ट भएका हुन् ।
प्रधानमन्त्री दाहालले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए पनि नारायणघाट–बुटवल सडक खण्ड र मुग्लिन–पोखरा सडक समयमै निर्माण सम्पन्न नहुने अवस्था देखिएको छ । उक्त सडकका कारण यात्रुले दैनिक कष्ट बेहोर्दै आइरहेका छन् । योजना प्रमुखहरुको उदासिनता र कमजोर कार्यक्षमताप्रति प्रश्न उठेपछि प्रधानमन्त्री दाहालले निरीक्षणका लागि कार्य क्षेत्रमै जाने बताएका छन् । सोही कुरालाई बुझेर भौतिक पूर्वाधार मन्त्री ज्वाला केही समय अगाडि मात्र अनुगमन गरेर फर्किएका छन् ।
मन्त्री ज्वालालाई योजना प्रमुखहरुले गिटी, बालुवा र ढुंगाको समस्या देखाएर पानीमाथिको ओभानो बन्ने कोसिस गरेका छन् । दुई सिफ्टमा गरेर भए पनि राष्ट्रिय गौरवका योजना समयमै सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री दाहालले बताएका छन् ।
यता, मुख्यसचिव डा. बैकुण्ठ अर्याल पनि सचिवहरुसँगको ‘रिपोर्ट कार्ड’ निराशाजनक देखिएपछि कठोर बनेका छन् । भौतिक पूार्वधार तथा यातायात मन्त्रालयको समस्याका बारेमा पूर्ण जानकार सचिव केशव शर्मा पनि लक्ष्य अनुसार प्रगती गर्न असफल भएको जानकारहरुले बताएका छन् । सचिव शर्मा र सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्माण व्यवसायीहरुले चेपुवामा पारेको अवस्था बताइन्छ । अर्थ मन्त्रालयले पुरानो दायित्व भुक्तानी नगर्दा सचिव शर्मा र ढकाल तातो भुंग्रोमा परेको समाचार श्रोतले बताएको छ ।
उता, सडकका डिभिजन प्रमुख र योजना प्रमुखहरु निर्माण व्यवसायीहरुको कारणले कार्यालय छाड्नुपर्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा मन्त्री ज्वाला चौतर्फी घेराबन्दीमा परेको श्रोतले बताएको छ ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *