एयरटेल सहकारीका गोयल फेरि ‘ठग्दै’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौंको व्यापारिक केन्द्र नयाँ सडकको धर्मपथस्थित ’एयरटेल वचत तथा ऋण सहकारी संस्था लिमिटेड’ का पीडित बचतकर्ताहरु झनै समस्यामा परेका छन् । पीडितहरुको रकम छ महिनाभित्र फिर्ता गर्न जिल्ला र उच्च अदालतले गरेको आदेशपछि पनि सहकारीका पीडित बचतकर्ताहरु बचत फिर्ता पाउने भन्दा पनि फेरि ठगिने भयले चिन्तामा परेका छन् ।
पिडीतहरुले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र बागमती प्रदेश सहकारी मन्त्रालयमा उजुरी गर्न पुगेका छन् । बचतकर्ताहरु प्रहरी र सहकारी विभागमा तथाकतिथ अध्यक्ष अशोक जैन (गोयल) माथि कारबाहीको माग गर्दै उजुरी गरेका हुन् । सहकारीका तात्कालिन प्रबन्ध सञ्चालक अशोक जैन (गोयल) ले सहकारीको तदर्थ समितिको अध्यक्ष र आफूखुशी सदस्यहरु मनोनयन गरी उक्त सहकारीको सम्पत्तिमा फेरि डुबुल्की मार्ने प्रपञ्च गरेपछि बचतकर्ताहरु झनै भयभीत भएका बताइएको छ ।
पीडित बचतकर्ताहरुका अनुसार उक्त तदर्थ समितिले भोलि शनिबार साधारण सभा डाकेको छ । न्यायलयको आदेशानुसार कैद मुक्त भएका गोयल पुनः सोही सहकारीको सञ्चालक समितिमा बस्न कानूनले रोकेको अवस्थामा गोयलले आफूलाई नै तदर्थ समितिको अध्यक्ष घोषित गर्दै साधाारणसभाको तयारी गरेकाले पीडित बचतकर्ताहरु झनै भयमा परेका हुन् ।
प्रदेशका कृषि तथा सहकारी मन्त्रीले निज गोयललाई सघाएको पीडित पक्षको आरोप छ ।
बागमती प्रदेश सहकारी कार्यालयमा यस विषयमा जानकारी लिंदा त्यहाँका रजिष्ट्रारले आफ्नो कार्यालयलाई साधारणसभा हुन गइरहेको जानकारी मात्र दिइएको दावी गरेका छन् । झण्डै ५० करोड रुपियाँ बराबरको रकम हिनामिना भएको अनुमान गरिएको उक्त सहकारीमा ६६ जनाको मात्रै २५ करोड भन्दा बढी ठगी भएको बताइन्छ ।
गोयलले आफ्नै पत्नी सुमन केडिया (गोयल) लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुशी लगानी गर्दै आएका थिए । संस्थाका अध्यक्ष र प्रबन्ध सञ्चालकसहित उनीहरु निकटस्थ रहेका सहकारीमै आवद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्रकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दीपेन्द्र शर्मामाथि सहकारी पीडितले आफूहरु ठगिएको भन्दै किटानी जाहेरी दिएका थिए । उनीहरुमध्ये कोही पक्राउ परेर कैद सजाय भुक्तान गरी निस्केका छन् भने कोही अझैसम्म पनि फरार नै रहेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *