चोरीको आरोप लागेपछि सांसदको राजीनामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ चोरीको आरोप लागेपछि एकजना सांसदले राजीनामा गरेकी छिन् । यस्तो राजीनामाको कुरा नेपालको हुन नसक्ने अवस्था सर्वविदितै छ । त्यसैले घटना न्यूजिल्याण्डकी एक सांसदको राजीनामासँग सम्बन्धित छ ।
न्यूजिल्याण्डको ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप लागेको छ । यीमध्ये एउटा चोरी अकल्याण्डमा र बाँकी वेलिंग्टनको पसलमा भएको बताइन्छ । उनले राजीनामा गर्दा कामको तनावका कारण आफूले चरित्र विपरित व्यवहार गरिरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘मैले धेरै मानिसहरूलाई अपमानित गरेकी छु र म माफी चाहन्छु ।’
गहरामनले मंगलबार अकल्याण्डको बुटिकबाट डिजाइनर झोला उठाएको सीसीटीभी फुटेज बाहिरिएपछि उनले राजीनामा दिएकी हुन् । उनीसँग सम्बन्धित उक्त घटनाको प्रहरी अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघमा मानवअधिकार वकीलसमेत भइसकेकी गोलरिजले सन् २०१७ मा इतिहास रचेका थिइन् । उनी न्यूजिल्याण्ड सरकारमा शपथ लिने पहिलो शरणार्थी हुन् । उनी बाल्यकालमा परिवारसहित इरानबाट भागेर न्यूजिल्याण्ड पुगेकी थिइन् । त्यसपछि उनलाई र उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *