काठमाडौं कलिङ महोत्सव हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आगामी भाद्र २२ गतेदेखि काठमाडौँमा तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सव हुने भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सवको आयोजनामा २०८१ सालको भाद्र २२ र २३ गते उक्त महोत्सव हुन लागेको महोत्सवका संस्थापक, निर्देशक तथा क्युरेटर रञ्जना निरौलाले जानकारी दिएकी छिन् ।
महोत्सवको केन्द्रीय विषय ‘नेपाल–एशियाली कला, संस्कृति र साहित्यको प्रवेशद्वार’ हुनेछ । वार्षिक कलिङ साहित्य महोत्सव भारतको विश्व अग्रणी साहित्य महोत्सवहरूमध्ये एक रहेको निरौलाले जानकारी दिएकी छिन् । महोत्सवमा नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका चार सयभन्दा बढी लेखकहरुको सहभागिता रहने बताइएको छ ।
महोत्सवको माध्यमले नेपाल र भारत तथा दक्षिण एशियाली देशहरूबीचको सांस्कृतिक संवाद, धार्मिक तथा साहित्यिक परिप्रेक्ष्य र दीर्घकालीन सम्बन्धलाई सुदृढ बनाउने विश्वास लिइएको छ । महोत्सवमा साहित्य, सङ्गीत, नृत्य, कविता र अन्य कला विधाहरूको प्रदर्शनी गरिने बताइएको छ । ‘काठमाडौं–केएफएलको पहिलो दुई संस्करण जस्तै, तेस्रो संस्करणमा नेपालको महान साहित्यिक, आध्यात्मिक, सांस्कृतिक परम्परा, अन्य पक्षहरू, सीता माता, शिव र बुद्ध तत्वको विषयबस्तु र यसको दक्षिण एशिया र विश्वव्यापी योगदानलाई विषय बनाइएको आयोजकले जानकारी दिएका छन् ।
कलिङ साहित्य महोत्सव भारतको पूर्वी भाग ओडिशाको भूवनेश्वरमा वार्षिक रूपमा आयोजना हुने सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवहरूमध्ये एक हो । सन् २०२२ देखि कलिङ्ग लिटररी फेस्टिभलले यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रा.लि. नेपालको सहकार्यमा वार्षिक काठमाडौं कलिङ साहित्य महोत्सव आयोजना गर्दै आएको बताइएको छ । यस सहकार्यले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकका बीच सांस्कृतिक संवाद, धार्मिक तथा साहित्यिक दृष्टिकोण र दीर्घकालीन सम्बन्धलाई सुदृढ बनाउने आयोजकले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *