ढुंगाना, अधिकारी र कंसाकारले जहाज डुबाए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाइडबडी जहाज खरिद भ्रष्टाचारमा झण्डै आधा दशकपछि ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन प्राधिकरणमा अर्बौ भ्रष्टाचार गर्ने महानिर्देशक प्रदीप अधिकारीलाई भने अझै छुन नसकेको भनी चर्चा छ ।
महानिर्देशक अधिकारीले गौतम बुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौ रकम भ्रष्टाचार गरेको उजुरी आयोगमा परे पनि छानविनमा तत्परता देखाएको छैन । शक्तिकेन्द्रलाई घुसको रकम बुझाएर प्राधिकरणमा रत्यौली खेल्दै आएका अधिकारीले फेरि बबरमहलमा रहेको पुरानो भवन भत्काएर आठ अर्ब रुपियाँमा व्यापारिक कम्प्लेक्स बनाउन लागेको चर्चा चलेको छ ।
यसबाट पनि महानिर्देशक अधिकारी मोटाउने भएका छन् भने बाइडबडी जहाजलाई खरानी पार्न तम्सेका तात्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाही, वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष एवं तात्कालीन पर्यटन सचिव शंकरप्रसाद अधिकारी, पूर्वसचिव एवं सञ्चालक समितिका सदस्य शिशिरकुमार ढुंगाना र तात्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहितलाई एक अर्ब ४७ करोड रुपियाँको माग दाबी गरिएको छ ।
यीमध्ये कंसाकार हवाईमाफियाहरुसँग घनिष्ठ सम्बन्ध रहेकाले पटक पटक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बन्न प्रयास गरे पनि सफल हुन नसकेर थन्किएर बसेका छन् । वाइडबडीका आरोपितमध्ये सञ्चालक समितिका सातजना पदाधिकारी र १४ जना निगमका कर्मचारी छन् । जसमध्ये बुद्धिसागर लामिछाने निकट भविष्यमै सचिव पदमा बढुवा हुने पर्यटन मन्त्रालयका सहसचिव हुन् ।
तात्कालिन मन्त्री शाहीलाई मूल्य बढाउने अनि विमानको भारवहन क्षमता घटाउने तात्कालिन महाप्रबन्धक कंसाकारलाई कागजात तयार गर्दादेखि नै बदनियत राखेको आरोप लगाइएको छ । यसैगरी लागत बजेटलाई अस्वाभाविक रुपमा बढाएको, सचिव अधिकारीलाई भारवहन क्षमता २४२ वाट घटाई २३० बनाएको र पूर्वसचिव ढुंगाना लगायतका सञ्चालकलाई विनियमावली संशोधन नगराई विमान खरिद प्रकृया अघि बढाएको आरोप अख्तियारले लगाएको छ ।
यता, नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दा पाँच महिनापछि धकेलिएको श्रोतले बताएको छ । ऋणले थला परेको निगमको जहाज खरिदमा संलग्नहरुलाई कडा सजाय दिनुपर्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *