अर्थसचिवमा मधु, कृष्णहरि बाहिरिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत बैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीलाई गत २०८० असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।

बैशाख १० गते अर्थमन्त्रालयमा पद बहाली गरेका सचिव मरासिनीलाई स्वागत र कृष्णहरि पुष्करलाई अर्थमन्त्री, राजश्व सचिव लगायतले स्वागत तथा विदाई गरेको अर्थमन्त्रालय श्रोतले बताएको छ । तात्कालिन अर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद जनार्दन शर्माको पालामा बजेट प्रकरणपछि सचिव मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । त्यसपछि वाणिज्य सचिवमा कार्यरत रहँदाकै अवस्थामा मरासिनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लफडामा परी नखाएको विष लागेको थियो ।

करिव सात महिनापछि विशेष अदालतबाट सफाई पाएका सचिव मरासिनी अर्थ मन्त्रालयको लामो अनुभव भएका विज्ञ सचिव हुन् । कर्मचारीको अवकाश हद ६० वर्ष नबनाइए मरासिनी १५ महिनापछि अवकाश हुने जानकारहरुले बताएका छन् ।
यता, प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव कृष्णहरि पुष्कर कर्णलाई तात्कालिन अर्थमन्त्री प्रकाशशरण महतले रातो कार्पेट विच्छ्याएर अर्थ सचिवमा भित्र्याएका थिए । अर्थसम्बन्धी शून्य ज्ञान भएका पुष्कर काँग्रेस नेतृ आरजु राणाको र भारतीय दूतावासको दबाबमा अर्थमन्त्री महतले नचाहँदा पनि भित्र्याउन बाध्य भएको चर्चा चलेको थियो ।

अघिल्लो पटक १२ जना सचिवहरुको सरुवा हुँदा पुष्करलाई बजेटपछि सरुवा गरिने चर्चा चलेको थियो । सचिवमा पुष्करलाई पटक्कै नरुचाएका अर्थमन्त्री वर्षमान पुनले नयाँ आ.व. २०८१÷०८२ को बजेट आउन एक महिना बढी समय हुँदा सरुवा गरेका छन् । नयाँ आ.व. २०८१÷०८२ को बजेट आगामी जेठ १५ गते आउँदैछ । अर्थमन्त्रालय यतिबेला बजेट निर्माणमा जुटेको छ ।

यता, बजेटपछि अर्थसचिव बन्ने सपना देखेका सचिव अर्जुन पोखरेलका लागि अर्थसचिवमा मरासिनी आएपछि ढोका बन्द हुन पुगेको छ । पोख्रेल हाल तथ्यांक विभागमा कार्यरत छन् । सचिव पुष्कर भन्दा पोख्रेल अर्थ सम्बन्धी ज्ञान भएकाले तात्कालिन अर्थमन्त्री एव एमालेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएका तोयम राय (हाल महालेखा परीक्षक) लाई सरूवा गरी अर्थमन्त्री महतले पोखरेललाई अर्थसचिव बनाएका थिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *