लघु चलचित्र ‘किबोर्ड’ को टाइटल गीत

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ बालबालिका तथा अभिभावकको मनोभावलाई केन्द्रमा राखी बनाइएको लघु चलचित्र ‘किबोर्ड’ को टाइटल सङ बुधबारदेखि सार्वजनिक भएको छ । गायक सुप्रिम मल्लको श्वर रहेको ‘पाइलाहरु लड्खडाउँदा …………’ भन्ने गीत युट्युबमा सार्वजनिक हुनासाथ दुई दिनमै एक लाख बढी श्रोता÷दर्शकको माया पाउन सफल भएको संगीतकार टेकेन्द्र नेपालीले जानकारी दिएका छन् ।
उक्त चलचित्र केही महिनाअघि रिलिज गरिए पनि गीतसँगै प्रदर्शनीमा जाने भएको हो । गीतलाई हाल युट्युबमा राखिए पनि लघु चलचित्रलाई भने नराखिएको लघु चलचित्रका कथाकार विजयराज आचार्यले जानकारी दिएका छन् । चलचित्रको निर्देशनमा मेहनत गरेका निर्देशक आचार्य गोपालले यो गीतको म्युजिक भिडियो पनि मेहनत गरी श्रोता÷दर्शकको मन खिच्ने कार्य गरेको निर्माता सन्देश आचार्यले बताएका छन् ।
गीत छोटो समयमै चर्चित हुनुमा गीतकार होम नेउपानेको शब्द चयन तथा चर्चित कलाकारहरु कृष्णभक्त महर्जन र रश्मी भट्टको अभिनय पनि कारक रहेको लाइन प्रोडुस्यर पुष्पराज अवस्थीले जानकारी दिएका छन् । उक्त लघुचलचित्र तथा गीतको प्रस्तुति क्रियटिभ सेन्टर नेपाल प्रा.लि.ले गरेको हो । लघुचलचित्र र गीतको बजार विस्तारको बारेमा जानकारी गराउँदै प्रा.लि.का अध्यक्ष कौशल कुमार भट्टराई भन्छन्, ‘बालबालिका, अभिभावकको अवस्थालाई ख्याल गरी पारिवारिक कथाबस्तुमा आधारित भएकाले यसको बजार विस्तार राम्रैगरी भैरहेको छ । अहिले अमेरिकामा रहेका नेपाली भाषीहरुले समेत यो चलचित्रलाई देखाउने अनुमति मागिरहेका छन् । यसैगरी अन्य देशमा रहेका नेपालीभाषीहरुले समेत यसमा रुचि देखाएको अवस्था छ ।’
युट्युवमा राख्नासाथ चर्चामा पुगेको गीत र लघुचलचित्रलाई विभिन्न शैक्षिक क्षेत्रहरुमा प्रदर्शनी गराइने लक्ष्य लिइएको छ । यसैगरी कतिपय स्थानीय निकायहरुले पनि प्रदर्शनीका लागि माग गरिरहेको जानकारी भट्टराईले दिएका छन् । उक्त लघु चलचित्रमा बाल कलाकार आलोक रानाभाट (चौरेली) ले पनि राम्रो अभिनय गरेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *