नारायणगढ बुटवल सडक कन्तविजोग, मन्त्री मूकदर्शक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / सत्तामा बसेर रमाउन र कमाउने पल्केका भन्ने आरोप उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई लाग्ने गरेको छ । नारायणगढ बुटवल, मुग्लिङ पोखरा र हुलाकी सडकको ढिलासुस्ती निर्माणले उनलाई गिज्याइरहेको भए पनि यात्रुहरुले पाएको सास्तीप्रति मूक दर्शक बनिरहेका बताइएको छ ।
चालु आर्थिक वर्षमा नेपालको सडक निर्माणमा संकुचन देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ । सडक निर्माणमा ठेक्का लगाउने, कमिशन खाने र निदाउने प्रवृत्ति पुरानै हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आउने मन्त्री र सचिव मन्त्रालयको सुधार गर्न र विकृति एवं बेथिति न्यून गर्नभन्दा कमाउन आउने समाचार श्रोतले बताएको छ । बिस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडक शुरु भएको पाँच वर्षमा ५० प्रतिशत मात्र काम भएबाट पनि उनीमाथि लाग्ने गरेको आरोपलाई सत्यता नजिक लगेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीनजना भौतिक पूर्वाधार र दुईजना भौतिक सचिव बनेका छन् । तात्कालिन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री (तीन महिना) नारायणकाजी श्रेष्ठ, २०७९ चैत १७ देखि २०८० फागुन २१ गतेसम्मका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र २०८० फागुन २१ पछिका रघुवीर महासेठले सडक अनुगमनको नाममा तामझाम देखाउने र निर्देशन दिए पनि यी सडकहरुको भौतिक प्रगति हुन सकेको छैन ।
उखरमाउलो गर्मीमा नारायणगढ–बुटवल, मुग्लिङ–पोखरा र हुलाकी सडकमा यात्रा गर्ने यात्रुहरुले खेपेको दुःख कष्ट एयरकन्डिसन कोठामा बस्ने मन्त्री सचिव र सम्बन्धित आयोजना प्रमुखलाई के थाहा ? ४२ महिनामा काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले पाँच वर्ष बढी समयमा बल्ल–५०–५७ प्रतिशत काम पूरा गरी २२ कि.मी. सडक कालोपत्रे गरेको छ ।
दुम्कीवासदेखि दाउन्नेहुँदै बर्दघाट पुग्न धुलाम्मे भै दुई घण्टा लाग्ने सरोकारवालाहरुले बताएका छन् । मुग्लिङ–पोखरा सडक खण्डको पश्चिम खण्डको पनि कन्तविजोग छ । हुलाकी सडकको निर्माणले पनि गति लिन सकेको छैन । हुलाकी सडक आयोजनाका आयोजना प्रमुख अभय मूलको अक्षमताले गति लिन नसकेको आयोजना श्रोतले बताएको छ ।
हुलाकी सडक निर्देशनालयबाट तात्कालिन आयोजना प्रमुख शुभराज न्यौपानेको सरुवा भए पछि एक इन्च पनि काम अघि नबढेको जानकारहरुले बताएका छन् । कञ्चनपुर–कमल सडक र काकडभिट्ट–लौकही सडकले पनि गती लिन नसकेको सडक विभागमा चर्चा चलेको छ । उता परिणाम देखाउन नसक्ने सडकका सुई र सिडिईहरुलाई कार्वाहीको सरुवा डण्डा चलाउने बताएका मन्त्री महासेठले असारेबाली भित्र्याउने बेलामा सरुवा नगर्ने भएपछि सुई र सिडिई तथा योजना प्रमुखहरु ढुक्कले निदाउन थालेको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *