पौडेललाई तनहुँमा काँग्रस सिध्याएको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर | नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं नेता गोविन्दराज जोशी यतिबेला काँग्रेसको सक्रिय राजनीतिमाभन्दा बीपी विचार समाजको विभिन्न कार्यक्रममा सक्रिय रहेका छन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेटमा कर्ताकर्ता पात्रसमेत रहेका जोशी काँग्रेसको १३ औँ महाधिवेशनपछि किनारा लागेका हुन् ।

भ्रष्टाचारकाण्ड लागे पनि आरोप प्रमाणित नभएका जोशीलाई पछिल्लो समय स्वास्थ्य र राजनीतिले साथ नदिएको काँग्रेसका जानकारहरुले बताएका छन् । काँग्रेसमा स्पष्ट वक्ता, निर्भिक व्यक्तिका रुपमा चिनिएका जोशीको यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आगो–पानी बाराबारको सम्बन्ध रहेको छ । बी.पी. विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई गत २०७८ फागुन १० गते सम्बोधन गर्दै नेता जोशीले २०१८ सालभन्दा अगाडि कम्युनिष्ट रहेका पौडेल २०१८ सालपछि काँग्रेसमा फाइदा हुन्छ भनेर आएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएको भन्दै कटाक्ष गरेका छन् ।

पौडेलले काँग्रेसमा भाँडभैलो मच्चाइरहेको र संविधानमा पैसा खाएर धर्मनिरपेक्षता लेखेको आरोपसमेत लगाएका छन् । तनहुँमा पौडेलकै कारण काँग्रेस समाप्त भएको बताउँदै आगामी निर्वाचनमा माओवादी, एमाले र समाजवादी पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने बताएका छन् । हिङ नभए पनि हिङ बेरेको टालोलाई आधार मान्ने हो भने तनहुँ काँग्रेसले जोशीलाई समेट्न पर्ने बताएका छन् । तनहुँमा वरिष्ठ नेता पौडेल र जोशीबीच एकअर्कालाई राजनीतिमा सिध्याउने होडबाजी चल्दा काँग्रेसीहरु ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ बन्न पुगेका छन् । तनहुँको काँग्रेस राजनीतिमा पद र प्रतिष्ठाको हिसाबले जोशीभन्दा पौडेल नै अग्रस्थानमा रहेका छन् । केन्द्रीय राजनीतिमा पार्टीको सभापति र प्रधानमन्त्री बन्न नसकेका पौडेलले गृहजिल्ला तनहुँमा जोशीसँग इगो साँध्नुभन्दा काँग्रेसको संगठन र संरक्षण गर्न लागिपर्नुपर्ने भुक्तभोगीहरुले बताएका छन् । राजनीतिमा कोही शत्रु र मित्रु हुँदैन भन्ने कुरा नेता पौडेललाई थाहा नहुने कुरै भएन । तसर्थ जोशीले पनि पौडेललाई कटाक्ष गर्न नहुने तनहुँका काँग्रेसीहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *