डिएलएलाई अझ राम्रो बनाउन मेरो उम्मेदवारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपाल, काठमाडौ इकाईको चौथो अधिवेशन अन्तर्गत आज शुक्रवार साधारण सभा र भोलि शनिवार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । यसै सन्दर्भमा उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता नारायण प्रसाद पौडेलसँग ‘नयाँ विमर्श’ साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः–

तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?
मैले विगत विद्यार्थीकालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमा आबद्ध भई स्कुल इकाई, क्षेत्रीय कार्यसमिति तथा विभिन्न क्याम्पस इकाईका नेतृत्व तहमा रहेर विद्यार्थी आन्दोलन र पार्टीको संगठन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु । ऐतिहासिक जनआन्दोलन–२ (०६२÷०६३) मा प्रहरीसँगको झडपमा लाठीचार्ज हुँदा घाइते हुनुको साथै प्रहरी हिरासतमा समेत बसेको छु । कानून व्यवसायमा प्रवेश गरिसकेपछि पदीय हिसाबले संगठनको महत्वपूर्ण भूमिकामा नरहे पनि संगठनले सञ्चालन गरेका विविध कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको अवस्थामा अब पदीय भूमिकामा रहेर हाम्रो पेशागत संगठनलाई बलियो बनाउने सोंच राखेको छु ।

डिएलए काठमाडौ इकाईको अधिवेशन हुँदैछ, यसलाई तपाईले कसरी लिनुभएको छ ?
वास्तवमा डिएलए लोकतन्त्रवादी कानून व्यवसायीहरुको साझा संगठन हो र यो संगठन मूल पार्टी नेपाली काँग्रेसको शुभेच्छुक संस्था पनि हो । यसर्थ, मूल पार्टी काँग्रेसमा मेरो सक्रियता र पूर्ण आस्था तथा डिएलए काठमाडौमा मेरो आवद्धता भएकाले काठमाडौं डिएलएको अधिवेशनलाई एउटा स्वाभाविक प्रक्रियाको रुपमा मैले लिएको छु । यसले हाम्रो पेशागत संगठनलाई थप बलियो बनाउने, अग्रज, समकालिन तथा नयाँ पुस्ताका कानून व्यवसायीहरुलाई उत्साह थप्ने काम गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । यो अधिवेशन निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भई यसबाट प्राप्त नतिजाले डिएलए केन्द्रीय अधिवेशन तथा नेपाल बार एशोसिएसनको निर्वाचनमा समेत डिएलएको बलियो उपस्थितिका लागि महत्वपूर्ण आधार निर्माण गर्नेछ भन्ने अपेक्षा गरेको छु ।

डिएलए काठमाडौ इकाईको उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ, तपाईंको उम्मेदवारी किन ?
वास्तवमा डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपाल अग्रजहरुको बलिदानीपूर्ण संघर्ष, त्याग, तपस्या र योगदानले स्थापित हाम्रो पेशागत संगठन हो । यो संस्थाको स्थापनाकालिन उद्देश्य प्राप्तिका लागि संघर्ष गर्ने, डिएलएमा आबद्ध कानून व्यवसायीहरुको हकहितका लागि आफूलाई समर्पित गर्ने, पेशागत यात्रामा आइपरेका समस्याहरुको समाधानका लागि संस्थागत तवरले नै अगाडि बढ्ने, बढीभन्दा बढी कानून व्यवसायीहरुलाई डिएलएमा आबद्ध गराउने, विपक्षी अन्य पेशागत संगठनहरुसँग सहजै प्रतिस्पर्धा गर्नसक्ने वातावरण निर्माणका लागि विशेष कार्ययोजना सहित अगाडि बढ्ने, अग्रजहरुलाई सम्मान गर्ने, समकालिन तथा भर्खरै कानून व्यवसायमा आवद्ध कानून व्यवसायी साथीहरुसँग मित्रवत् सहकार्य गर्ने र संगठन भित्र देखापर्न सक्ने विकृति तथा विसंगतिहरु विरुद्ध संस्थागत रुपमै संघर्ष गर्नका लागि मेरो उम्मेदवारी हो ।

उम्मेदवारी त दिनुभयो, जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सामान्यतयाः उम्मेदवारी दिएपछि जित्ने चाहना सबैलाई हुन्छ । नयाँ कार्यसमितिका लागि पदाधिकारी तथा सदस्य सहित ज–जसको उम्मेदवारी परेको छ, उहाँहरु सबै योग्य हुनुहुन्छ र सबैको ध्यान संगठन बलियो बनाउनुपर्दछ भन्नेमा नै छ । उम्मेदवारी दिने सबैको जित हुँदैन किनकि कार्यसमितिमा एउटा सीमितता छ र त्यो हुनु पनि पर्दछ । त्यसैले मैले मेरो उपाध्यक्ष पदको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिएको छु । हारजितको कुरा भन्दा पनि हामी सम्बद्ध अग्रज, समकालिन तथा नयाँ पुस्ताका कानून व्यवसायीहरु यो अधिवेशनमा निकै उत्साहित हुनुहुन्छ र उहाँहरुको उत्साह नै मेरो जितको आधार हो । यो विशुद्ध रुपमा हामीहरुबीचको आन्तरिक प्रतिस्पर्धा भएकाले डिएलए काठमाडौ इकाईमा आवद्ध सम्पूर्ण कानून व्यवसायीहरुले मलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्ने मेरो विश्वाश छ ।

डिएलए काठमाडौं इकाईको उपाध्यक्षमा निर्वाचित हुनभयो भने त्यसपछि तपाईंको योजना के छ ?
कानून व्यवसाय जस्तो मर्यादित र सम्मानित पेशामा अहिले बादल लागेजस्तो देखिएको छ । विशुद्ध रुपमा कानून व्यवसाय, न्याय र पक्षको हितमा लाग्नुपर्ने हाम्रो पेशामा केही चुनौतीहरु थपिएका छन् जसले हामी कानून व्यवसायीहरुप्रति आम सर्वसाधारणले हेर्ने दृष्टिकोणमा नकारात्मक भाव झल्कँदै गएको अनुभूति मैले गरेको छु । आखिर यो पेशामा किन र कस्को कारण यस्तो अवस्था आयो ? यो गम्भीर विषयमा हाम्रो संगठनभित्र व्यापक छलफल भई यसको सुधारका लागि डिएलएले अग्रसरता लिनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । यो कुरालाई मैले कार्यसमितिको उपाध्यक्ष पदमा रहेर अगाडि बढाउने सोच राखेको छु । अर्कोतर्फ हाम्रो संगठनभित्र हुने आन्तरिक विवादले गर्दा हामी जसरी कमजोर हुँदै गएका छौं, त्यसलाई सुधार नगर्ने हो भने डिएलएको अस्तित्व संकटमा पर्दछ भन्ने मेरो चिन्ता हो । तसर्थ, यो विषयलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे नयाँ कार्यसमितिमा छलफल गरी अग्रजहरुको सल्लाह र सहमतिमा संगठनलाई पक्कै पनि अझै बलियो बनाउन सकिन्छ भन्ने मेरो सोंच हो । त्यस्तै डिएलएको सदस्यतामा उत्पन्न हुने विवाद समाधान गर्ने, सदस्यता वितरणलाई अझै सहज तथा पारदर्शी बनाउने, हामी आवद्ध कानून व्यवसायीहरुमा पेशागत तालिम, अन्तरक्रिया, छलफल, गोष्ठीहरु सञ्चालन गर्ने, डिएलएमा महत्वपूर्ण योगदान दिनुहुने अग्रजहरुलाई सम्मान गर्ने र डिएलएको सदस्य हुँ भनेर ठाडो शीर पारेर बोल्न सक्ने तथा गौरव गर्न सक्ने डिएलए मेरो परिकल्पना हो ।

अन्त्यमा के भन्न्ुहुन्छ ?
डिएलए काठमाडौं इकाईको चौथो अधिवेशन हुँदैछ । यही अधिवेशनलाई मध्यनजर गर्दै मैले कार्यसमितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । डिएलएमा मेरो आबद्धता र सोही आबद्धताकै कारण उपाध्यक्ष पदमा उम्मेदवारी दिनु पाउनुलाई मैले गौरव तथा एउटा सुनौलो अवसरको रुपमा लिएको छु । संगठन भित्र आन्तरिक प्रतिस्पर्धा हुन्छ, हुनुपर्दछ तर आफ्नो संगठनभित्रको आन्तरिक प्रतिस्पर्धाकै कारण विपक्षी संगठनहरुसँग मिलेमतो गरी आफू आबद्ध संगठनका साथीहरुलाई अन्तरघात गर्ने परिपाटी हामीमा हुनुहुँदैन । त्यस्तो भएको छ भने यस्तो अप्रिय बिषयको अन्त्य हुनु जरुरी छ किनकि संगठनमा समय सापेक्ष नेतृत्व परिवर्तन भइरहनुपर्दछ र नेतृत्वका लागि इच्छुक व्यक्तित्वहरुले योग्यता तथा क्षमताका आधारमा नेतृत्व गर्ने अवसर पाउनुपर्दछ । यही नै हाम्रो पेशागत, राजनीतिक मूलमन्त्र हो । उम्मेदवारी प्राप्तिका लागि जे–जस्ता संघर्षहरु हुन्छन्, ती संघर्ष पार्टी तथा संगठनले आधिकारिक निर्णय गरिसकेपछि अन्त्य हुनु जरुरी छ । जब संगठनले आधिकारिक निर्णय गरी उम्मेदवारीको चयन गर्दछ, तब हामी सबैले एकताबद्ध भएर त्यस्ता उम्मेदवारहरुलाई जहिले पनि विजयी गराउनेतर्फ लाग्नुपर्दछ । त्यसैले मैले आजसम्म पार्टी तथा संगठनले गरेको आधिकारिक निर्णयविरुद्ध कुनै पनि कार्यहरु नगरेको र आगामी दिनहरुमा पनि संगठनको आधिकारिकताभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्दै सदैव संगठनको हितमा आफूलाई समर्पित गरिरहने प्रण गर्दछु । अन्त्यमा मैले डिएलए काठमाडौ इकाईको नयाँ कार्यसमिति चयनका सन्दर्भमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मेरो यो उम्मेदवारीलाई संगठन निर्माणको जगका रुपमा बुझिदिनु भई डिएलए काठमाडौं इकाई आबद्ध वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता सहित सम्पूर्ण मतदाताज्यूहरुलाई उपाध्यक्ष पदमा मलाई मतदान गरी विजयी गराई दिनु हुन विनम्रतापूर्वक आग्रह गर्दछु । यसैगरी तपाईंहरु सबैको साथ, सहयोग, समर्थन र सुझावका साथ सँधै अगाडि बढ्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *