मालपोतका कर्मचारी ‘भ्रष्टाचारी’ ठहर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मालपोत कार्यालय पर्साका तात्कालीन अधिकृतसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूलाई जनही दुईदेखि आठ वर्षसम्म कैद पनि निर्धारण गरेको हो ।
अदालतले यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो । मालपोत कार्यालय पर्साका तात्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
मिश्र, बोगटी र तिवारीलाई आठ वर्ष, गोपालबहादुर ढुङ्गानालाई चार वर्ष पदमप्रसाद अर्याललाई दुई वर्ष कैदको सजाय निर्धारण गरेको छ । राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा कारागार सजाय जरिवाना सुनाएको अदालतले जनाएको छ । भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ । उनलाई एक करोड २५ लाख ११ हजार बिगो तिराउने फैसला गरेको छ । यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्ने फैसला पनि विशेषले सुनाएको बताइएको छ ।
मिश्र र बोगटीले जनही एक करोड २५ लाख ११ हजार तिर्नुपर्ने भएको छ । त्यस्तै ढुंगानाले ३५ लाख ४५ हजार, अर्यालले १६ लाख ८१ हजार र तिवारीले एक करोड २५ लाख ११ हजार रुपियाँ बिगो तिर्नुपर्ने भएको छ । चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर चार लाख ८८ हजार रुपियाँ जरिवाना तिर्नुपर्ने भनी फैसला भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *