शव हस्तान्तरण ‘आज’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ बुधबार काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । विमानका मुख्य चालकलाई भने सकुशल उद्धार गरिएका उनको उपचार भै रहेको छ । उक्त विमानले उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।
विमानमा चालक दलसहित १९ जना सवार थिए । १८ जनाको मृत्यु भयो भने क्याप्टेन मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो । शाक्यको अहिले काठमाडौँ शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको भनी अस्पतालले जनाएको छ । उनको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली अस्पतालमा बुधबार नै पुगेका थिए ।
सीआरजे २०० जहाज नियमित मर्मतका लागि पोखरा जान लागेको थियो । जहाजमा कम्पनीकै प्राविधिकसहित केही बाहिरका यात्रुहरू समेत सवार थिए । एयरलाइन्सबाट उपलब्ध जानकारी अनुसार १७ जना यात्रुहरूमध्ये एक जना बालकसहित १६ जना पुरुष र एक जना महिला थिए । दुई जना चालक दलमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट सुशान्त कटवाल थिए ।
उक्त दुर्घटनामा परी मृत्युवरण गर्नेहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आश्विन निरौंला र सुदीपलाल जोशी रहेका बताइएको छ । यसैगरी सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज अली, राजाराम आचार्य, प्रिजा खतिवडा र उनको चार वर्षे छोरा अधिराज शर्माको पनि मृत्यु भएको जनाइएको छ । यस्तै, उद्धव पुरी, योग्यप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही, अरिफ रेडा (यमनी) र सुसान्त कट्वाल (को–पाइलट) को पनि मृत्यु भएको रहेका छन् ।
रनवे छोडेको केही सेकेन्डमा नै जहाज अनियन्त्रित भएर जमिनमा बजारिन पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मृतक १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको तथा संभव भएसम्म आज शुक्रबारसम्म उनीहरुको परिवारजनलाई शव हस्तान्तरण गरिने बताइएको छ ।
नेपालमा २०७९ माघ १ गते पोखरामा यति एयरलाइन्स दुर्घटनामा परेको थियो । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन–एएनसी जहाजमा चालक दलका चार जनासहित ७२ जनाको मृत्यु भएको थियो ।
यसैबीच बुधबार दुर्घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गरी सरकारले हिजो विहीबार राष्ट्रिय झण्डा आधा झुकाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *