बाल चित्रकथामा बौद्ध स्तूपको किंवदन्ती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ युनेस्कोको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । बौद्ध स्तूप पनि भनिने यही स्तूपको किंवदन्तीमा आधारित रहेर कथालय इन्कले पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रविन्द्र मानन्धरका चित्र समावेश छन् । बौद्धनाथलाई नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारुङ खाशोर भनिन्छ । पुस्तकमा दुई छुट्टाछुट्टै कथा रहेको मानन्धरले जानकारी दिए । उनका अनुसार एउटा कथामा, शहरमा अचानक हिटी सुकेपछि जनताले राजालाई विन्ती गर्छन् । ज्योतिषीहरूले ३२ लक्षणले युक्त मानिसको बलि दिए हिटीबाट पानी आउने सल्लाह दिन्छन् ।
राजाले एउटा जुक्ति निकाल्छन् । नारायणहिटीमा पिशाचले बास गरेकाले मध्यराति गएर त्यसको टाउको छिनाल्न राजकुमारलाई उनी अह्राउँछन् । राजकुमारले सोहीमुताबिक सेतो कपडामा बेरिएर सुतेको पिशाचलाई एकै झमटमा तरबार प्रहार गर्छन् । उछिट्टिएर उनको हातमा आएको टाउको आफ्नै बुबाको हुन्छ ।
पुस्तकको अर्को भागचाहिँ महागुरु रिम्पोछे पद्मसम्भवले राजा त्रिसोन देसेनलाई सुनाएको कथामा आधारित छ । यसमा हाँस पाल्ने गरिब महिला जड्झिमाले ठूलो चैत्य बनाउन गरेको योजनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । यसमा पनि चैत्य निर्माण थाले पनि पूरा नहुँदै उनको मृत्यु हुने हुँदा त्यसपछि चैत्यको अवस्था के हुन्छ भन्ने कुरालाई कथात्मक ढंगबाट उठाइएको बताइएको छ ।
लेखक प्रधान नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष हुन् । त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक रहिसकेका प्रधानले ऐतिहासिक उपन्यास ‘विडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *