काठमाडौँ/ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेमाथि घुस लिएको भनी गम्भीर आरोप लगाएका छन् । मन्त्री पाण्डेले घुस लिएर क्यासिनो सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) दिएको आरोप लगाएका हुन् ।
बजगाइँले लगाएको आरोपमा रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रकम घुस बुझाएको भन्ने छ । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ । हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोको उक्त रिक्रियसनले गत साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको बजगाइँले आरोप लगाएका छन् । त्यतिबेला पाण्डे पर्यटनमन्त्रीमा नियुक्त भएको दुई साता भएको थियो । बजगाइँले त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि.क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको पनि उल्लेख गरेका छन् ।
रुपन्देहीस्थित तात्कालिन टाइगर हेरिटेज रिसोर्ट अहिले विवादित छ । उक्त रिसोर्टको १६ बिघा जग्गामध्ये केही जग्गा सरकारी स्वामित्वको क्षेत्रमा उक्त जग्गामा बनेको संरचना भत्काउन स्थानीयबासीले माग गर्दै आएका छन् । यो विषयमा २०७८ सालमै अदालतले दिएको अन्तरिम आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै कार्य नगरी यथास्थितिमा राख्नु भन्ने उल्लेख छ । यस्तो अवस्थामा बजगाईँले अहिले पनि अदालतको आदेश कायमै रहेको उल्लेख गरेका छन् । उनका अनुसार यो अवस्थामा नयाँ स्वामित्व हस्तान्तरण र नयाँ अनुमतिपत्र दिनै नमिल्ने अवस्था हो ।
यसैबीच सांसद बजगाइँको आरोपको मन्त्री पाण्डेले खण्डन गरेका छन् । उनले आफूले करोडौं रुपियाँ त के एक कौडी पनि घुस बापत नलिएको दाबी गरेका छन् ।
मन्त्री पाण्डेमाथि गम्भीर आरोप
Facebook Comments Box