भक्तपुरमा बाटोको अवस्था बुझ्दै सांसद

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न सकेको छैन । उनीहरुका बीचमा कुरा मिल्न नसक्दा त्यस्तो अवस्था आएको भनी सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरका सडक विस्तार तथा बाधा व्यवधानका विषयमा छलफलका लागि एउटा टोली सो कार्यालयमा हालै गएको थियो । सडक डिभिजन कार्यालय भक्तपुरले सो अवसरमा स्थानीय बासिन्दा र कार्यालय तथा ठेकेदारको विवादका कारण दुवाकोटको पहिरो नियन्त्रण हुन नसकेको जानकारी गराएको थियो ।
भक्तपुर क्षेत्र नम्बर १ क मा रहेका बाटोहरू निर्माण तथा मर्मत संभारको विषयमा बारम्बार कुरा उठ्न थालेपछि सांसद श्रेष्ठको नेतृत्वमा टोली छलफलका लागि सो कार्यालयमा पुगेको थियो । टोलीले विभिन्न बाटाहरूको विषयमा सडक डिभिजन कार्यालय भक्तपुरलाई जानकारी गराउँदै बाटो बन्न ढिला सुस्तीको विषयमा ध्यानाकर्षण गराएको सांसद श्रेष्ठले जानकारी दिए ।
सो कार्यालयअन्तर्गत पर्ने प्रस्तावित वीर अस्पताल सडक, भत्के पाटी नगरकोट सडक लगायतका सडकको विषयमा जानकारी गराउँदा कार्यालयका प्रमुख सुमन योगेशले प्रस्तावित वीर अस्पताल सडक अन्तर्गत दुवाकोट खड्का डिलमा भने स्थानीय बासिन्दा र सडक डिभिजनको कुरा मिल्न नसक्दा पहिरो नियन्त्रण तथा बाटो निर्माणमा ढिलाइ भएको जानकारी दिएका थिए । ‘पहिरो ठूलो छ, स्टेप स्टेप गरी नबनाई हुँदैन तर स्थानीयले प्लमवाल लगाउन पाए हुने थियो भन्ने विवादका कारण नै उक्त स्थानमा बजेट फिर्ता जान लागी सक्दा पनि काम गर्न नसकेको हो ।’ उनले भने ।
उनले जनप्रतिनिधि तथा स्थानीयले त्यहाँको विवाद समाधान गरिदिएका खण्डमा एक सातादेखि नै काम गर्न लगाउने प्रतिबद्धता समेत गरे । खड्का डिलमा सडकदेखि धेरै भाग पहिरो गएको छ । ‘उक्त स्थानमा स्टेप गरी ग्याभिन वाल नै लगाउनुपर्ने छ प्लम वाल लगाउँदा ठाडो र थेग्न नसक्ने हुने हुँदा स्थानीय जग्गाधनीहरूसँगको विवाद समाधान गरी बाटो बनाउन सहजीकरणको लागि आग्रह गर्दछौं ।’ उनले भने ।
टोलीमा प्रदेशसभा सदस्य श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सचिव तथा पूर्व वडाध्यक्ष राजेश खड्का, चाँगुनारायण नगर सभापति तथा पूर्व वडाध्यक्ष शिवहरि के.सी., चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की, वडा सभापतिहरू नरेन्द्र श्रेष्ठ र रिगेन कार्की लगायत चाँगुनारायणका स्थानीयको सहभागिता रहेको थियो । – संजीव दुलालबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *