घोराही/ नेपाल बालसाहित्य समाजको २९औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको स्थानीय मूल आयोजक समितिका सदस्य सचिव सूर्य बि.सि.ले जानकारी दिए ।
गत शुक्रबार भएको उद्घाटनसत्रको नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवम् बौद्धिक व्यक्तित्व नारायणप्रसाद शर्माले उद्घाटन गरेका थिए । सो उद्घाटन सत्रमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललगायतको सहभागिता रहेको थियो ।
गोर्खा इन्टरनेशनल स्कुलको प्रांगणमा सम्पन्न उद्घाटन तथा समापन समारोहको अध्यक्षता समाजका अध्यक्ष प्रमोद कुमार प्रधानले गरेका थिए । सो कार्यक्रममा समाजका संस्थापक अध्यक्ष प्रा.डा.चूडामणि बन्धु, पूर्वअध्यक्षहरु प्रा.डा.कपीलदेव लामिछाने, डा.हरिप्रसाद भण्डारी, प्रा.डा. ध्रुव घिमिरे, तेज प्रकाश श्रेष्ठ लगायतको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.भीमप्रसाद खतिवडाले विशिष्ठ अतिथिको रुपमा मर्मस्पर्शी मन्तव्य राख्नु भएको थियो । यसैगरी ९४ वर्षको भएर पनि युवाजोशका साथ प्रमुख अतिथि नारायणप्रसाद शर्माले अहिले समाज आधुनिकताको नाममा भाँडिदै गएको अवस्थालाई दृष्टिगत गरी बालबालिकाको भविष्यका लागि सबै सरोकारवालाले समयमै सोच्नुपर्ने धारणा राखेका थिए ।
समाजले हरेक वर्ष जसो राष्ट्रियभेला गर्ने गरेको जानकारी समाजका महासचिव विजयराज आचार्यले जानकारी दिएका छन् । समाज स्थापना भएको ३७ वर्षको दौरानमा २९ वटा राष्ट्रिय सम्मेलनहरु विभिन्न जिल्लामा गरिएको जानकारी उनले दिए ।
राष्ट्रिय सम्मेलनको आयोजक समितिमा स्थानीय जिल्लाका सरोकारवालाहरुलाई राख्ने गरिने प्रचलन रहेको बताइएको छ । राष्ट्रिय सम्मेलनमा काठमाडौंमा रहेका बालसाहित्यकारहरु पनि सहभागी हुने गरेका छन् । यसक्रममा उक्त सम्मेलनमा काठमाडौंबाट करिब ५० जना बालसाहित्यकारहरु सहभागी रहेको बताइएको छ । उक्त सम्मेलनमा बंगलादेशबाट पनि सहभागिता जनाइएको थियो ।
सम्मेलनले ५ बुँदे दाङ घोषणापत्र सार्वजनिक गरेको छ । सम्मेलनका दौरानमा विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुलाई विभिन्न किसिमका तालिमहरुमा सहभागिता गराइएको थियो । यसैगरी विभिन्न ६ वटा विषयमा प्यालनमा छलफल कार्यक्रम पनि राखिएको थियो । एउटा प्यानल छलफल कार्यक्रममा ‘नयाँ विमर्श’ साप्ताहिकका सम्पादक कौशल कुमार भट्टराईको पनि सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागीहरुलाई गोरखा इन्टरनेशनल विद्यालयका शिक्षक तथा कर्मचारीहरुले व्यवस्थापनको जिम्मेदारी कुशलतापूर्वक सम्हालेको बताइएको छ । सोही विद्यालयले दाङ जिल्लाभन्दा बाहिरबाट सहभागिता जनाएकाहरुलाई खानपान, बसोबास तथा भ्रमणको व्यवस्थापनको व्यवस्था मिलाएको थियो । सो कार्यका लागि विद्यालयका प्राचार्य मानसिंह घर्ती मगर, वसन्त पुन तथा मूल आयोजक समितिका संयोजक डा. टीकाराम उदासीको सक्रियता प्रसंशनीय रहेको भनी सहभागीहरुले बताएका छन् ।
बालसाहित्य समाजको राष्ट्रिय सम्मेलन
Facebook Comments Box