थापाले रावलको शेखी झारे

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री एवं चर्चित युवानेता गगनकुमार थापाले नेकपा (एमाले) का नेता भीमबहादुर रावलको शेखी झारेका छन् । एमालेमा हिरो बन्न खोजेका र पार्टीबाट एक्लिएका रावललाई अनुशासनहीन बनेको आरोप एमाले अध्यक्ष खड्गप्रसाद ओलीले समेत लगाएका छन् ।

फागुन १५ गते प्रतिनिधिसभाको बैठकमा एमसीसी पारित गर्ने विषयमा रावललाई बोल्न तीन मिनेटको समय दिइएको थियो । रावलले मन्तव्य राख्ने क्रममा एमसीसी राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिसत्ताका विरुद्ध रहेको भन्दै एमसीसी पारित गर्ने नेताहरुलाई गद्दारको संज्ञा दिएका थिए । उनले त्यसोभन्दा एमाले पार्टीका नेताहरु संसद्मा नाराबाजी गरिरहेका थिए । एमाले पार्टीमा आपूmलाई मात्र राष्ट्रवादी भन्न रुचाउने नेता रावललाई त्यसपछि काँग्रेसका महामन्त्री एवं सांसद् थापाले शेखी झार्दै ओठतालु सुक्ने बनाएका थिए ।

नक्कली राष्ट्रवादको कुरा गरेर जनतालाई सडकमा उतारेर मर्न र मार्न लगाउने रावलजस्ता भ्रमको खेती गरेर ठग्न पल्केका नेतालाई जनताले माफी नदिने भनी थापाले बताए । यति मात्र होइन, ‘म काठमाडौँको सांसद् हुँ, एमसीसीको विषयमा अछामदेखि काठमाडौँसम्म बहस गर्न तयार छु’ भन्दै रावललाई चुनौतीसमेत दिएका छन् । एमसीसी राष्ट्रहित विपरित रहे आफ्नो नागरिकता खोसियोस्, चारपाटा मुडेर थानकोट कटाइयोस् भन्दै थापाले रावलप्रति कटाक्ष गरेका थिए ।

एमालेमा रावलबाहेक सिङ्गो पार्टीले मौन समर्थन जनाएको कुरा पार्टी अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत् स्पष्ट पारिसकेका छन् । नक्कली राष्ट्रवादको कुरा गरेर अछामका जनतालाई भ्रमको खेती गर्दै आएका रावलको राजनीतिक भविष्य धरापमा परेको जानकारहरुले बताएका छन् ।

एमालेमा अध्यक्ष ओलीको आँखाको कसिङ्गर बनेका रावल एक्लो बृहस्पति बनेका छन् । उता, एमसीसी संसद्बाट पारित गर्ने सवालमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई अगाडि सारेपछि उनको राजनीतिक उचाइ ह्वात्तै बढेको चर्चा चलेको छ । व्याख्यात्मक १२ बुँदे घोषणाको सूत्राधारसमेत रहेका थापालाई नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले फुच्चे नेता भन्दै कटाक्ष गरेपछि खनाल पनि अब राजनीतिमा बास बस्ने अवस्थामा पुगेको जानकारहरुले बताएका छन् ।

राजनीतिमा थापालाई उदाउँदो सूर्य र रावल एवं खनाललाई निभ्ने बेलाको बत्ती भनी चर्चा परिचर्चा हुन थालेको छ । २०६६ सालपछि खनाल र रावल सरकारमा भएकाले एमसीसीको स्वामित्व लिनुपर्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *