काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत न्यायाधीकरणले ठगी गरेको अभियोग लगाई ५३ वटा म्यानपावर कम्पनीहरुलाई छ महिना कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारको इतिहासमा एकै पटक यस्तो फैसला यसअघि नभएको बताइन्छ ।
वैदेशिक रोजगारको नाममा कतार, साउदी अरब, मलेसियालगायतका देशमा जाने श्रमिकको रोजगार सम्झौता, मागपत्र, श्रमस्टिकर लगायतका कागजात नक्कली बनाई म्यानपावरहरुले ऋण काढेर बैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई ठग्दै आइरहेका छन् ।
सजाय पाउने म्यानपावरहरुमा आरएसआर ग्लोबल जब, एस इम्प्लेमिन्ट, अञ्जली ओभरसिज, दीप गेटवे सिटिजन ओभरसिज, इम्पाएर इन्टरनेशनल, लिभर्टी एचआर, मश्राक, मादी ओभरसिज, लक्की ओभरसिज, मेरिगोल्ड, मोविरा, प्रदेशी ओरिसज, आरके म्यानपावर, सिग्नल ओभरसिज, स्टार रे म्यानपवार, सार्क किष्ट, साउदी नेपाल इम्प्लेमेन्ट, पर्फेक्ट, स्वस्तिक ओभरसिजलगायत रहेका छन् ।
पछिल्लो समय गठबन्धन सरकारका श्रम तथा रोजगार मन्त्री किसन श्रेष्ठले वैदेशिक रोजगारीमा भइरहेको ठगी र मौलाउँदो विकृति एवं विसंगतिप्रति धावा बोलेपछि मानव तस्करहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ ।