देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l प्रधानमन्त्री शेरबहादुर देउवाले गत फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएसँगै लामो समयदेखि गिजोलिएको ठूलो राजनीतिक विवादलाई अन्त्य गराउन सफल भएका छन् । देउवाको सुझबुझ एवं परिपक्वताले एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि नेपाली काँग्रेस नेतृत्व एकढिक्का भएको थियो । यसैगरी गठबन्धन दलका जनमोर्चाबाहेकका राजनीतिक दलले साथ दिएका थिए । प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि एमसीसी पारित गर्नका लागि सहमति जनाएको थियो । देउवाका लागि टाउको दुखाई बनेको एमसीसी पारित भएपछि अब उनले मन्त्रिपरिषद् हेरफेर एवं पूर्णता दिने तयारी गरेको बताइएको छ ।

देउवा नेतृत्वको मन्त्रिपरिषद्मा हाल २३ जना मात्रै सदस्य रहेका छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत देउवा आफैँले सम्हालेका छन् । २५ जनासम्म मन्त्री बनाउन सकिने अवस्थामा रिक्त रहेका दुइटा मन्त्रालयमा काँग्रेसबाट मन्त्री बन्ने आकांक्षी आधार दर्जन बढी रहेका छन् । देउवालाई एमसीसी पारित गराउन सदनभित्र र बाहिर महत्वपूर्ण भूमिका खेलेका महामन्त्री गगनकुमार थापालाई मन्त्रिपरिषद्मा भित्र्याउनुपर्ने आवाज काँग्रेसभित्र चर्कोरुपमा उठेको छ ।

यसबाहेक काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति बन्न साथ दिएका प्रकाशमान सिंहलाई गृहमन्त्रीको जिम्मेवारी दिने र बालकृष्ण खाणलाई रक्षामा लैजाने तयारी भएको बालुवाटार स्रोतले बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार के.सी. र वामदेव गौतमलाई बर्दियाबाट पराजित गर्ने सञ्जय गौतमको नाम मन्त्री बन्ने सूचीमा रहेको स्रोतले जानकारी दिएको छ । उता, काँग्रेस नेतृ सुजाता कोइराला पनि मन्त्री बन्ने चर्चा चले पनि सम्भावना न्यून रहेको र बिनाविभागीय मन्त्री बनेका उमेश श्रेष्ठले विदाबारी पाउने सम्भावना रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *