काभ्रेपलाञ्चोक/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माको सडक निर्माणमा भैरहेको ढिलासुस्तीका कारण छटपटी शुरु भएको छ । जानकारहरुका अनुसार इमान्दार मन्त्रीका रुपमा चिनिएका दाहाल र अनुभवी सचिव शर्माको हुटहुटीप्रति काम हुन नसक्दा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले चासो राखी असन्तुष्टि व्यक्त गरेका छन् ।
ओलीका विश्वासपात्र मानिएका मन्त्री दाहालले शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हाले पनि दातृ राष्ट्रको ऋण सहयोगमा निर्माण भैरहेका नारायणगढ–बुटवल, मुग्लिङ पोखरा, नागढुंगा–नौबीसे, मलेखु–मुग्लिङ, काँकडभिट्टा– लौकही र कमला–कञ्चनपुर सडक बिस्तारले अपेक्षित गती लिन नसक्दा यात्रुहरुले सास्ती खेप्दै यात्रा गर्न बाध्य भएका बताइएको छ ।
मन्त्री दाहाल र सचिव शर्मा अनुगमनमा निस्किए पनि ठेकेदार र योजना प्रमुखहरुको अक्षमताले उपलब्धी हुन नसकेको जानकारहरुले बताएका छन् । भौतिक मन्त्री दाहालले मन्त्रालयमा दिनहुँजसो बैठक राखी निर्देशन दिए पनि कार्यान्वयन हुन नसकेको समाचार श्रोतले बताएको छ ।
यता, कार्यक्षमताले भन्दा वरिष्ठताले सडक विभागको महानिर्देशक बनेका रामहरि पोख्रेललाई सचिव शर्माको बैशाखी टेकेर विभाग चलाउने गरेको आरोप लागेको छ । महानिर्देशक पोख्रेलले सडक विभागको कामलाई भन्दा पूर्वमन्त्री रघुवीर महासेठकी पत्नी एवं सांसद जुली महतोको स्वकीय सचिव सञ्जिव मण्डलले लिएर गएको ठेक्कापट्टा सम्बन्धी कामलाई प्राथमिकता दिने गरेको सडक विभागमा चर्चा चलेको छ ।
देश विकासको मेरुदण्ड मानिने सडक निर्माण र विस्तारप्रति असन्तुष्टि बढेकै बेला गत २०८१ असोज ११ र १२ गते आएको बाढी पहिरोको कारण पूर्वको लाइफलाइन मानिने बी.पी. राजमार्ग क्षतिग्रस्त हुँदा पुनर्निर्माणमा ठूलो धनराशी खर्च हुने अवस्था देखिएको छ । दैनिक १०औं हजार गाडी गुड्ने उक्त राजमार्ग सामान्य मर्मत गरेर यो बर्षामा सञ्चालन गर्न मात्र तीन अर्ब रुपियाँ बराबरको खर्च लाग्ने बताइएको छ । सो राजमार्गलाई पहिलाकै अवस्थामा सञ्चालन गर्न साढे नौ अर्ब बढी लाग्ने बताइएको छ ।
राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १३ किलोमिटर सडक खण्डमध्ये आठ कि.मि. सडक पूर्ण रुपमा ध्वस्त भएको छ । भक्तपुर डिभिजन सडक र खाल्टे डिभिजन सडक सिन्धुलीको कार्यक्षेत्र भित्र पर्ने सो राजमार्ग क्षतिग्रस्त भएपछि डिभिजन प्रमुखद्वय सुमन योगेश र पारस हमाल बजेट व्यवस्थापन नहुँदा चिन्तित बनेको सडक विभाग श्रोतले जानकारी दिएको छ ।
सामान्य मर्मतका लागि तीन अर्बको बजेट व्यवस्थापन गर्न नसकेको मन्त्रालय र विभागले साढे नौ अर्ब बढीको बजेटका लागि श्रोतको खोजीमा रहे पनि सहयोग गर्न आजसम्म कसैले ‘ग्रीन सिग्नल’ दिएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडक खण्ड पुनर्निर्माणका लागि सहयोगको याचना गरे पनि वास्ता नगरी ‘कानमा तेल हालेर’ बसेपछि दातृ निकायहरु एशियाली विकास बैंक (एडीबी) र विश्व बैंक (वल्र्ड बैंक) को सहुलियतपूर्ण ऋण लिने भन्ने विषय पनि चर्चामा आएको छ ।
यो राजमार्ग जापान सरकारको सहयोगमा निर्माण गरिएकोले मन्त्रालय सकेसम्म जापानले पुनर्निर्माण गरिदेओस् भन्ने पर्खाइमा छ । जापान सरकारले नबनाए एडीबी र वल्र्ड बैंकको सहुलियतपूर्ण ऋण लिएर ठेक्का प्रकृया शुरु गर्दा यो बर्खामा यात्रुहरुले कष्टकर यात्रा र यातायात सञ्चालनमा भयानक कठिनाई उत्पन्न भै यातायात सञ्चालन नहुन सक्ने बताइएको छ ।
पूर्ण रुपमा सडक सञ्चालन गर्न काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्म दुई वर्ष लाग्ने भएकाले मन्त्री र सचिवको नाडी बी.पी. राजमार्गले छाम्ने जानकारहरुले बताएका छन् ।
भौतिक मन्त्री र सचिवको नाडी छाम्दै बी.पी. राजमार्ग
Facebook Comments Box