संसारीदेवी विद्यालयमा कम्युटर प्रयोगशाला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’ को सहयोगमा १५ वटा कम्प्युटर सहितको प्रयोगशाला स्थापना गरिएको हो ।
यसैगरी पाँचवटा स्मार्ट टिभी, स्मार्टबोर्ड, ल्यापटप, प्रोजेक्टर, फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको जनाइएको छ । १६ लाख रुपियाँ बराबरको सहयोगमा उक्त प्रयोगशालाको व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिएका छन् ।
स्थापित प्रयोगशालाको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गरे । सो अवसरमा रुसेलले प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएको बताउँदै उक्त विद्यालयमा कम्प्युटर ल्याबको स्थापनाले यहाँका विद्यार्थीमा चेतनास्तर बढ्नेमा आफू विश्वस्त रहेको बताइन् । शिक्षा संसारको ठूलो स्वतन्त्रता हो भन्दै उनले प्रविधियुक्त शिक्षाले अझ फराकिलो शिक्षा प्राप्त गर्नमा मद्दत गर्ने भन्नेमा आफू विश्वस्थ रहेको उनले बताइन् ।
यसैगरी उक्त संस्थाले आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पाँचखाल नगरपालिका –१० बेलाका २५ गृहिणी महिलालाई बाख्रा प्रदान गरेको छ । रुसेल आफैँले प्रतिमहिला दुई वटाका दरले बाख्रा वितरण गरेका थिए । ती बाख्राबाट जन्मेकोमध्ये दुई वर्षपछि एउटा बाख्रा फिर्ता गरी पुनः अर्को समूह बनाइने संस्थाका नेपाल निर्देशक रवीन्द्र सिटौलाले जानकारी दिए । उनका अनुसार संस्थाले नेपालमा ५२ महिला समूह निर्माण गरी बाख्रा वितरण गरेको छ ।
यो विद्यालय २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट शुरु गरिएको बताइएको छ । विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापकले जानकारी दिएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *