ललितपुर/ पछिल्लो समय नारायणगढ–बुटवल सडक बिस्तारले गति लिन थालेपछि धमाधम कालोपत्रे गर्ने र पुल एवं कल्भर्ट निर्माण गर्ने कामले पनि गति लिएको जानकारहरुले बताएका छन् । यो सडक खण्डको गैंडाकोटबाट दाउन्ने सम्मको ४० किलोमिटर सडक बिस्तार र दुम्कीबासमा पुल भाँचिएपछि यात्रुहरुले सकसपूर्ण यात्रा गर्न बाध्य भएका थिए । ठेकेदार कम्पनीले काम अघि नबढाँउदा ठेक्का तोड्ने सम्मको चर्चा चलेको थियो ।
अहिले उक्त सडकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सचिव केशव कुमार शर्मा र आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालको विशेष पहलमा कामले गती लिएपछि सरकारको अक्षमताको समीक्षा र सन्देश बिस्तारै मत्थर हुँदै गएको छ । नागढुङ्गा नौबीसे, नौबीसे–मलेखु र मलेखु–मुग्लिङ्ग सडक खण्डको कामले पनि गति लिन थालेको समाचार श्रोतले जानकारी दिएको छ ।
धुँवा, धुलो र हिलोका कारण वाक्कदिक्क स्थानीयवासीलाई राहत मिलेको समाचार श्रोतले बताएको छ । करिब ९५ किलोमिटर दुरी रहेको यो सडक खण्ड तीनवटा प्याकेज बनाएर स्तरोन्नति गरिँदै आएको छ । यो सडक खण्डलाई सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले रेखदेख गर्दै आइरहेको छ । यो महाशाखा उपमहानिर्देशक डा. विजय जैसीले नेतृत्व गर्दै आइरहेका छन् र जैसी सडक विभागका सक्षम प्राविधिक सहसचिव हुन् । उनलाई भविष्यको महानिर्देशकका रुपमा हेरिएको छ । सडक विभागमा सडकको बारेमा विधावारिधि गर्ने जैसी क्षमतावान् र कार्यक्षमता भएका सुपरिटेण्डेन्ट इन्जिनियर भएको समाचार श्रोतले जानकारी दिएको छ ।
यता, कोटेश्वर–कलंकी सडक खण्ड अन्तर्गत पर्ने ग्वार्काे फ्लाइओभर निर्माणको काम ठप्प हुँदा उक्त स्थान अस्त व्यस्त बनी घण्टौंसम्म यात्रुहरु जाममा पर्ने गरेका छन् । पछिल्लो एक महिनादेखि निर्माण व्यवसायी सम्पर्कमा नरहेपछि सडक विभाग तनावमा रहेको श्रोतले बताएको छ । आशिष–समानान्तर–रेलिगर जेभीले १७ करोड बढीमा ठेक्का लिएको उक्त फ्लाईओभर सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका कारण अलपत्र परेको आरोप लागेको छ ।

नारायणगढ–बुटबल सडकले गति लिँद, ग्वार्काे अलपत्र
Facebook Comments Box