काठमाडौं/ विकास र सुशासनको नक्कली भाषण गरेर नथाक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल झनै विवादमा पर्न थालेका छन् । उनमाथि ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर निर्माण कम्पनीको चास्नीमा डुबेर सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभातकुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ट्राफिक महाशाखामा सरुवा गरेको आरोप लागेको छ ।
‘बालकोट’को निर्देशनमा मन्त्री दाहालले समानान्तर–आशिष निर्माण कम्पनीका ठेकेदारबाट रु.५० लाख बुझेको समाचार बाहिरिएपछि मन्त्री दाहालको राजनीतिक निष्ठा र इमान्दारितामाथि प्रश्नचिन्ह उठेको जानकारहरुले बताएका छन् । गुणस्तरहीन काम गरेको ठेकेदार कम्पनीलाई गुणस्तरमा सम्झौता नगरेपछि झालाई सरुवा गरिएको समाचार श्रोतले बताएको छ ।
सुई झा पाँच महिना अगाडिमात्र विभागको योजना महाशाखाबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको प्रमुखमा सरुवा भएका थिए । यसअघि पनि झालाई भीम साउदको लामा–राजेन्द्र निर्माण सेवा कम्पनीको स्वार्थ अनुसार काम नगर्दा संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतबाट सरुवा गरिएको समाचार श्रोतले बताएको छ । विधि, पद्धति र गुणस्तरमा कुनै सम्झौता नगरेका कारण केही सिडिईहरुले पनि झामाथि विभिन्न आरोेप लगाउने गरेका छन् । ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर निर्माणमा मापदण्ड अनुसार निर्माण कम्पनीले स्ल्याबहरु र विभिन्न पार्टको डिजाइन उपलब्ध नगराई मनपरी ढंगले निर्माण कार्यलाई अगाडि बढाएपछि झाले अडान लिँदा काम अलपत्र बनेको थियो ।
हाल आयोजना प्रमुख झाको सरुवा भएपछि कामलाई अगाढि बढाइएको छ । २०७२ सालको भूकम्पले क्षति बनेको बबरमहलको सडक विभागको पुनर्निर्माण समानान्तर निर्माण कम्पनीका ठेकेदार अच्यूत खरेलले नै गरेको जानकारहरुले बताएका छन् । मन्त्री, सचिव र सडक विभागका महानिर्देशकलाई प्रभावमा पारी उक्त निर्माण कम्पनीले घटीमा १ सेन्टिमिटर र बढीमा २ से.मी. हुनुपर्ने ग्याप ७–८ से.मी.मा राखेको, पर्खालको कुनै कुनै भाग चर्किन थालेकोले भविष्यमा खतरा हुनसक्ने बताइएको छ । यसरी राजनीतिक पहुँचका आधारमा निर्माणको काम आशिष समानान्तर रेलिगेर कम्पनीले ज्वाइन्ट भेञ्चरमा गरी ठक्का हात पारी समानान्तर ग्रुपका अध्यक्ष खरेलले लिएका ठेक्काहरु गुणस्तरहीन हिसाबले निर्माण गरी मुलुकलाई धरापमा पार्ने गरेको सडक विभागमा चर्चा चलेको छ । त्यसैले यस्तो संवेदनशील काममा मन्त्री र मातहतका व्यक्तिले चास्नीमा डुबेर खेलाँची गर्नुलाई अनर्थको संज्ञा दिइएको छ ।

समानान्तर–आशिषको चास्नीमा डुबे मन्त्री
Facebook Comments Box