बी.पी. राजमार्ग र दाउन्ने सडकको अवस्था

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ समृद्धि र विकासको नारा बोकेर बनेको नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितका कारण देशका सडकहरुको अवस्था दयनीय बनेका छन् ।
मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक निर्माण र मर्मतमा चासो नदेखाउँदा यात्रुहरु सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । खासगरी सडक विभागका महानिर्देशक पोखरेलको कार्यशैली र अक्षमतालाई मन्त्री र सचिवले सुनपानी छर्केपछि सडकको मर्मतले गति लिन नसकेको जानकारहरुले बताएका छन् ।
महानिर्देशक पोखरेलले सडक विभागको नेतृत्व गत २०८१ जेठ ३० गतेबाट सम्हालेका हुन् । तात्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई मोटो थैली बुझाएर डिजी बनेका आरोप लाग्ने गरेका पोखरेलले १० महिना बितिसक्दा पनि सिन्को नभाँचेको चर्चा चलेको छ । यिनै अक्षम महानिर्देशकलाई मन्त्री र सचिवले काखी च्याप्दा बी.पी. राजमार्ग र नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने खण्डको यात्रा वर्णन गरी साध्य नभएको भनी भुक्तभोगीहरुले दुखेसो गर्ने गरेका छन् ।
पोखरेलले सडकको अनुगमन निरीक्षण र ताकेता गर्नुको सट्टा दिनभर मन्त्रालयमा बिताउने गरेको समाचार श्रोतले बताएको छ । सडक विभागमा जनआक्रोश बढ्न थालेपछि ३–४ बजेतिर आई फाईलहरु सदर गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । निर्माण व्यवसायीहरुको कमिशनमा रमाउने गरेको आरोप पनि पोखरेलमाथि लाग्ने गरेको छ ।
यसैबीच बी.पी. राजमार्गको काभ्रेपलाञ्चोक खण्ड अन्तर्गतको चौकीडाँडा नेपालथोक खण्डको मर्मत भए पनि बर्षामा गाडी चल्ला नचल्ला भन्ने बारे व्यापक चासो पैदा भएको छ । गत २०८१ असोज ११–१२ गते परेको भीषण बर्षाले बी.पी. राजमार्गको २४ किलोमिटर खण्डमध्ये १३ किलो मिटर सडक रोशी खोलाले ध्वस्त बनाएको थियो । अर्थ मन्त्रालयले आठ अर्ब रुपियाँको श्रोत सुनिश्चित गरेपछि अहिले सिन्धुलीतर्फको एकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई खण्डको ठेक्का आव्हान भइसकेको समाचार श्रोतले जानकारी दिएको छ ।
उक्त सडक मर्मत बर्षा अगाडि नै सक्न सडक डिभिजन भक्तपुरका योजना प्रमुख सुमन योगेश र खाल्टे सिन्धुली सडक डिभिजन प्रमुख पारस हमाल लागि परेका बताइएको छ । यता, नारायणगढ–बुटवल खण्ड अन्तर्गतको दाउन्ने पुगेपछि यो देशमा पनि सरकार छ र भन्ने चित्रण भएको अनुभव गर्न सकिन्छ । दाउन्नेदेखि बुटवलसम्मको करिव २० किलोमिटर सडक खण्डमा घण्टौंसम्म जाम हुँदा यात्रुहरुले चर्को गर्मी, धुलाम्मे सडक, भोक र प्यास सहेर बसभित्र बस्न बाध्य बन्दै आइरहेका छन् ।
७–८ घण्टासम्म दाउन्ने क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले भोग्नुपरेको समस्याप्रति मन्त्री, सचिव र महानिर्देशकले मोटरबाट यात्रा गर्न पीडितहरुले सुझाएका छन् । दाउन्ने सडक खण्ड छिचोलेर मुग्लिनबाट नौबीसेसम्मको यात्रा पनि कष्टकर बनेको र घण्टौ जाम हुने गरेको अवस्थामा सरकार र नागरिक समाज किन चुपचाप बसेका छन् भन्ने प्रश्नचिन्ह खडा भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *