करिष्माले छाडिन् बाबुराम, सिंह एमालेमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई छाडेर नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । मानन्धर फिल्म निर्माता विनोद मानन्धरकी श्रीमती हुन् । अहिले फिल्म छाडेर राजनीतिमा लागेकी करिष्मा यसअघि बाबुराम भट्टराईको जनशक्ति पार्टीमा आबद्ध थिइन् ।

बाबुरामले नै जनशक्ति पार्टी छाडेर जसपातिर हामफालेपछि उनी गत चैत ८ गते एमालेमा प्रवेश गरी कमरेड करिष्मा बनेकी छिन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताए पनि पद पाइने हिसाबले गएको चर्चा चलेको छ । मानन्धरको प्रवेशले ललितपुरबाट नवराज सिलवालको कित्ताकाट हुनसक्ने बताइएको छ ।

यसअघि फिल्म अभिनेत्र रेखा थापाले पनि माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरी गत मंसिर १५ गते सम्पन्न महाधिवेशनमा पराजित भएकी थिइन् । थापाले हालै दोस्रो विवाहसमेत गरेकी छिन् । उता २०६२ साल अर्थात् १६ वर्षपछि एमाले छाडेर समाजवादी जनता पार्टी गठन गरेका पूर्वमन्त्री प्रेमबहादुर सिंहसहित सजपा एमालेमा समाहित भएको छ । खानेपानी मन्त्री हुँदा मन्त्रालयअन्तर्गतका विभाग र आयोजना कार्यान्वयन निर्देशनालयमा व्यापक कार्यकर्ता भर्ना गरेका सिंहको पार्टी ‘बाँदरको पुच्छर लौरो न हतियार’ बनेपछि एमालेमा फर्कन बाध्य भएको राजनीतिका ज्योतिषहरुले बताएका छन् ।

यता, एमालेले पनि मुठ्ठी टिप्न खोज्दा मानो पोखिएपछि यस्तैयस्तै गरेर मुठ्ठी जम्मा गर्नतिर लागेको जानकारहरुको कथन छ । समाजवादी जनता पार्टीबाट मन्त्री बनेका सिंह त्यसपछि चुनाव जित्न नसकेर रन्थनिएको अवस्थामा मन्त्री बन्ने सपना देखेर एमालेमा हाम फालेको अर्थ लगाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *