स्थानीय चुनावमा विप्लवले भाग लिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । स्थानीय चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुलाई असार १५ को जस्तो भ्याइ—नभ्याई चटारो शरु भएको छ । यतिबेला गठबन्धनका अध्यक्षहरु देश दौडाहामा छन् । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली उखानटुक्काको पोको लिएर जिल्लाजिल्लामा गई माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई कटाक्ष गरिरहेका छन् ।

ओलीले नेकपा (एमाले) को बहुमत आउने सपना देखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल हिमाल, पहाड, तराईका जनतासँग आफ्नो पार्टीको बहुमत आउने भन्दै भ्रम बाँडेर जनताको आँखामा धूलो छर्कने कोसिस गरिरहेका छन् ।

स्थानीय चुनावको तयारी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि आ—आफ्नै हिसाबले गरिरहेका छन् । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा ७७ वटा राजनैतिक दल दर्ता भएको बताइएको छ । तर, मान्यता प्राप्त भने छवटा दलले पाएका छन् । यसैबीच, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले पनि स्थानीय चुनावमा भाग लिने निर्णय गरेको छ । कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यहरुले महासचिव चन्दको राजनैतिक प्रस्तावप्रति सहमति जनाएका छन् भने केन्द्रीय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले स्थानीय चुनाव बहिष्कार गर्नुपर्ने फरक मत राखेको समाचार स्रोतले जानकारी दिएको छ ।

उता मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीले चुनाव बहिष्कार गर्ने बताएको छ । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीमा जनमत नभएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । चुनाव नजिकिँदै जाँदा फेरि पनि कम्युनिष्टहरुको एकता हुनक्ने भनाइलाई एमाले अध्यक्ष ओलीले दाहाल र नेपाल कम्युनिष्ट नै नभएको बताएपछि तत्काल एकताको ढोका बन्द भएको राजनीतिको पसल थापेकाहरुले बताएका छन् । माओवादी केन्द्र, नेकपा एस र जसपाले चुनावमा गठबन्धन गरेर जानुपर्ने सुगा रटाइप्रति काँग्रेसमा पनि मत बाझिएको छ । काँग्रेसले गठबन्धनबाट हात झिक्ने हो भने माओवादी केन्द्र र नेकपा एस विचरामा परिणत हुने जानकारहरुले बताएका छन् । उता, अहंकारले एमाले पनि पछारिने अवस्थामा पुगेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *