डिजी उदासीन बन्दा सडकमा बजेट अभाव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l आजको ठीक एक महिनापछि अर्थात् २०७९ बैशाख १९ गते सडक विभागका महानिर्देशक शिवहरि सापकोटा अनिवार्य अवकाश हुँदैछन् । चार महिना अगाडि विभागको महानिर्देशक बनेका सापकोटाले सडकमा सुधारको गति बढाएका थिए ।

सरकारले संसद् छलेर ल्याउन लागेको निजामती अध्यादेशमा अवकाशको उमेर ६० वर्ष बनाउने व्यापक चर्चा चलेको छ । अवकाश हुने उमेर हद ६० वर्ष बनाए डीजी सापकोटासहित रेल्वे विभागका महानिर्देशक दीपक भट्टराई र विभागका सु.इ.द्वय दीपक श्रेष्ठ तथा कैलाश श्रेष्ठलाई राहत मिल्दछ । उमेर हद ६० वर्ष बनाइए डीजी सापकोटाले विभागको खेतीपाती थन्क्याउन पाउने छन् । नत्र हाल कार्यक्रमका लागि विदेश भ्रमणमा रहेका तीनजना सु.इ.हरु अर्जुनजङ्ग थापा, शिव नेपाल र सुशीलबाबु ढकालमध्येबाट एकजना महानिर्देशक बन्ने छन् । जसमा थापाको प्रवल सम्भावना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उच्च स्रोतले बताएको छ ।

यता डीजी सापकोटा उदासीन बन्दा राष्ट्रिय गौरवका सडकहरु सडक योजना कार्यालय र सडक डिभिजनहरुमा ठेकेदारलाई काम गरेको रकम भुक्तानी दिन नसक्दा डिभिजन प्रमुख र योजना प्रमुखहरु भाग्नुपर्ने अवस्था आएको छ । बजेटको अभावमा हुलाकी सडक दमक, व्यापारिक मार्ग विस्तार आयोजना रानी विराटनगर, सडक डिभिजन जनकपुरलगायत तराई मधेशका सडकमा १० अर्ब रुपियाँ बढी भुक्तानी गर्न बाँकी रहेको छ भने कान्तिलोक पथमा बजेट भएर पनि योजना प्रमुखको अक्षमताले निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन ११ औं संशोधनलाई निहुँ बनाएर काम ओगटेर राखेको समाचार स्रोतले बताएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको लक्ष्यअनुसार प्रगति नहुँदा वित्तीय प्रगति पनि निराशाजनक रहेको बताइएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, उत्तर—दक्षिण कालीगण्डकी र कर्णाली करिडोरको निर्माण कार्य धीमा गतिमा बढेको अवस्थामा हाकिमहरुको फुर्ती एवं आर्थिक अवस्था मजबुत बनेको सडकका जानकारहरुले बताएका छन् । झन्डै साँढे रु.८४ अर्ब लागतको पुष्पलाल लोकमार्ग १४ वर्षमा भौतिक प्रगति ६० प्रतिशत रहेको छ । त्यस्तै रु.६५ अर्ब २० करोडको लगानीमा निर्माणाधीन हुलाकी राजमार्गको भौतिक प्रगति पनि ७० प्रतिशत रहेको छ । हुलाकी राजमार्ग पनि २०६६—६७ देखि शरु भएको हो । राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलासुस्तीले बर्सेनी राज्यको व्ययभार बढ्दै गएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *