भक्तपुर र स्याङ्जामा एमालेको गढ भत्किँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l  २०७४ को स्थानीय निर्वाचन परिणामले एमालेको गढ भएको भक्तपुर जिल्लाका चारैवटा नगरपालिकामा एमाले कमजोर र असुरक्षित बनेको विश्लेषण हुन थालेको छ । नारायणमान बिजुक्छेको किल्ला भनेर चिनिने गरेको भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिले नगरप्रमुखमा बाजी मारेका थिए ।

बाँकी तीनवटा नगरपालिकाहरु मध्यपुर थिमी नगरपालिकामा काँग्रेसीहरुको अन्तरघातले प्रमुख (मेयर) पदका काँग्रेसी उम्मेदवार अष्टकुमार कवेलाई पराजित गरी एमालेका मदनसुन्दर श्रेष्ठ नगरप्रमुख बनेका थिए भने चाँगुनारायण नगरपालिकामा एमालेका सोमप्रसाद मिश्र र सूर्यविनायक नगरपालिकामा एमालेकै वासुदेव थापा विजयी भए । एमालेले जितेका तीनवटै नगरपालिका मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एमाले अध्यक्ष खड्गप्रसाद ओली र एमाले सांसद महेश बस्नेतले विकास निर्माणमा काँग्रेसप्रति आस्था राख्नेहरुलाई आँखाको कसिङ्गर ठान्ने प्रवृत्ति बढेपछि अहिले काँग्रेसको संगठन २०७४ मा भन्दा बलियो भई एमाले र नेमकिपाको किल्ला ध्वस्त हुने बताइएको छ ।

नेमकिपालाई सुगर लागेको र एमालेलाई हाई ब्लडप्रेसरले सताएपछि उनीहरुको संगठन कमजोर बनी काँग्रेस बलियो बन्दै गएको जानकारहरुले बताएका छन् । भक्तपुरको काँग्रेस सभापतिमा दुर्लभ थापा दोहोरिएपछि उनले संगठन निर्माणमा निकै मेहनत गरेका छन् । भक्तपुरमा खासगरी २ नं. क्षेत्रमा काँग्रेसीहरुको बेमेल र अन्तरघातले हार्ने गरेको अवस्थामा यस पटक एकजुट भएर चारवटै नगरपालिकामा काँग्रेस जिताउ अभियान चलेको छ ।

यसैगरी, स्याङ्जाको पाँचवटा नगरपालिका र छवटा गाउँपालिकामा पनि काँग्रेसको व्यापक लहर आएको छ । पाँचवटा नगरपालिकाहरुमध्ये चापाकोट नगरपालिका प्रमुखमा शिवकुमार गिरी, वालिङ्ग नगरपालिका प्रमुखमा दिलीपप्रताप खाँण र भीरकोट नगरपालिका प्रमुखमा छायाराम खनाल काँग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा विजयी बनेका थिए भने बाँकी दुईवटा नगरपालिका गल्याङ्ग र पुतलीबजार नगरपालिकामा एमाले विजयी भएको थियो । छवटा गाउँपालिकाहरु हरिनास, विरुवा, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी र कालीगण्डकीको अध्यक्षमा सबै एमाले विजयी बनेका थिए । यस पटक हरिनास र विरुवा गाउँपालिकामा हाम्रोलाई भन्दा राम्रोलाई टिकट दिए कांग्रेसले जित्ने बताइएको छ । हरिनासमा कांग्रेसबाट टोपा भुजेलले टिकट पाउने सम्भावना छ । भुजेलले टिकट पाए सजिलै जित्ने काँग्रेसीहरुले बताएका छन् । बाँकी गाउँपालिकाहरु कृष्णगण्डकी, अर्जुनचौपारी, आँधीखोला र फेदीखोला गाउँपालिकामा पनि पहिलाभन्दा संगठन सुधार भएकाले स्याङ्जाका सबै नगरपालिका र गाउँपालिकामा एमालेको गढ भत्किने घर—दैलो अभियानमा संग्लन भएकाहरुले बताएका छन् ।

स्याङ्जा काँग्रेस सभापति राजु थापा एवं महाधिवेशन प्रतिनिधिहरुको संगठन निर्माणप्रतिको खटाइले काँग्रेसप्रति व्यापक लहर आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *