काभ्रेमा एमालेलाई धक्का

Nayabimarsha (Weekly Newspaper from Nepal)

धुलिखेल l प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बनेपा नगरपालिकामा प्रत्यक्ष तथा काभ्रेपलाञ्चोक जिल्लामा अप्रत्यक्ष रुपमा धक्का लाग्ने भएको चर्चा छ । एमालेका नेता एवम् बनेपा नगरपालिका बहालवाला नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेपछि यस्तो अवस्था आएको हो ।

बनेपामा शनिबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले एमाले परित्याग गरेको घोषणा गरेका थिए । नगर प्रमुखका लागि पुनः टिकट दिने भनी एमालेका नेताहरुले आश्वासन दिए पनि अन्तिममा आएर उनलाई धोका दिइएका कारण उनले दल त्याग गरेको बताए । उनले एमालेको साधारण सदस्य समेत नरहने गरी एमाले परित्याग गरेको बताए । उक्त पत्रकार सम्मेलनमा उनले एमालेबाट सोही जिल्लाका सांसद समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले आफूलाई धोका दिएको बताए । बास्कोटाले आफूलाई टिकट दिने भनी आश्वस्त पारेको जानकारी गराउँदै अन्तिममा अर्कैलाई टिकट दिएको आरोप उनले लगाएका छन् । उनले एमालेको संगठित सदस्य रहेको आफ्नो परिवारको पाँचजनाले नै दल परित्याग गरेको जानकारी दिएपछि त्यसको असर पूरै जिल्लामा पर्ने भनी चर्चा चलेको छ । एमालेले नगर प्रमुखको उम्मेदवारमा रत्नकुश रञ्जितकार र उप–प्रमुखमा विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

उनले आफू अहिले अन्य कुनै दलमा प्रवेश गर्ने वा नगर्ने भन्ने केही नखुलाए पनि उनले एमालेलाई हराउनका लागि आफू तथा आफ्नो परिवारलाई प्रयोग गर्ने अनुमान गरिएको छ । फेरि पनि एमालेका उम्मेदवार निर्वाचित भएमा आफ्नो दलत्यागले खासै माने नराख्ने बुझेका उनले जिल्ला भरी नै आफ्ना समर्थक तथा शुभचिन्तकहरुलाई एमालेका विरुद्धमा उतार्ने चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *