बलरामा नागेन्द्र झाको उम्मेदवारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

सर्लाही l  सर्लाही जिल्लाको बलरा नगरपालिकामा हुने आसन्न स्थानीय निर्वाचनको विषयलाई लिएर अहिले निकै चर्चा चल्ने गरेको छ । खासगरी लामो समय देशको प्रशासनिक क्षेत्रमा कार्य गरेका नागेन्द्र झा यस पटक आफ्नो नगरमा आई नगर प्रमुखको उम्मेदवार बनेकाले चर्चा बढेको हो ।

बलरा नगरपालिका सर्लाहीकै आकर्षक तथा शक्तिशाली नगरपालिकाहरुमध्येमा पर्ने भएका कारण पनि यहाँको निर्वाचन निकै नै चर्चामा आउने गरेको छ । उक्त नगरक्षेत्र हालका चर्चित सांसद अमरेशकुमार सिंहको निर्वाचन क्षेत्रको समेत रहेका कारण बढी चर्चामा हुने गरेको थियो । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष रहेका महन्थ ठाकुर समेत सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका कारण बलरा चर्चित नगरपालिकामध्येमा पर्ने गरेको छ ।

यस पटकको निर्वाचनमा पनि नगर प्रमुख पदमा सबैजसो दलबाट उम्मेदवार बनेको अवस्था छ । सो नगरमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) मात्र होइन कि जनमत पार्टीले समेत उम्मेदवारी दिएको अवस्था छ । अन्यत्रका धेरै ठाउँहरुमा हालको सत्तारुढ गठबन्धनबाट मिलाएर उम्मेदवार बनाइने गरे पनि त्यो दृश्य यस नगरपालिकामा भने देख्न नपाएको अवस्था छ ।

लामो समय देशको प्रशासनिक क्षेत्रमा कार्य गरेका पूर्वप्रशासक नागेन्द्र झाले यस नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट नगर प्रमुखमा उम्मेदवारी दिएका हुन् । उनलाई प्रमुखको टिकट दिने सर्तमा केही हप्ताअघि नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको उपस्थितिमा एमाले प्रवेश गराइएको थियो । जन्मजात कम्युनिष्ट विरोधीको छवि बनाएका झालाई अन्तत ः एमालेले धोका दिएर टिकट दिएन ।

नगर प्रमुखमा उम्मेदवारी दिने तयारीका साथ जिल्लामा क्रियाशील झाले टिकट नपाएपछि उनलाई जसपाले आफ्नो उम्मेदवार बनाउने निर्णय ग¥यो । एमालेको सदस्यता लिएको केही हप्ता पनि नबित्दै झा अहिले जसपाका तर्फबाट उम्मेदवार बनी गाउँघरमा पुगी मत माग्दै आएका छन् ।

उनको उम्मेदवारीलाई लिएर अन्य दलका प्रतिस्पर्धी उम्मेदवारहरुले समेत उनलाई ‘हेवि वेट’ उम्मेदवारका रुपमा लिएका बताइएको छ । पूर्व प्र.जि.अ. तथा नापी विभागको महानिर्देशक समेत बनेका झाले आफ्नो नगरलाई समुन्नत बनाउन विभिन्न योजनाहरु सहित उम्मेदवारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *