काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ सांगीतिक कोशेली ‘नभनेका कति कुरा’ सार्वजनिक गरिएको छ । प्रेम, भावना र सम्बन्धका सूक्ष्म आयामलाई कलात्मक रूपमा प्रस्तुत यस गीतमा प्रस्तुत गरिएको छ । गीत सार्वजनिक भएसँगै संगीतप्रेमी श्रोता–दर्शकमाझ सकारात्मक चर्चा बटुल्न थालेको छ ।
गीतमा तारा अधिकारीका भावपूर्ण शब्द रहेका छन् । यसैगरी संगीतकार किरण कँडेलले संगीत सिर्जना गरेका छन् । कुशल सिंहको संगीत संयोजन रहेको गीतमा लोकप्रिय गायक–गायिका रजिना रिमाल तथा करण परियारको सुमधुर श्वर सुन्न सकिन्छ । यसले गीतलाई थप आकर्षक बनाएको छ ।
प्राविधिक पक्षमा पनि गीतलाई विशेष ध्यान दिइएको छ । गीतको रेकर्डिङ शम्भु कुमार तन्डुकारले गरेका हुन् । मिक्सिङ अशोक महर्जनले गरेका छन् । मिक्सिङ सुपरभिजन तथा मास्टरिङको जिम्मेवारी संगीतकार किरण कँडेलले नै सम्हालेका छन् ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार महेश खड्का र स्मृति श्रेष्ठको प्रभावशाली अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र सम्बन्धका भावनात्मक पक्षलाई जीवन्त ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ । भिडियोको मेकअप कविता तोलाङ्गीले गरेकी छन् । यसैगरी अनुजा अधिकारीको कोरियोग्राफी रहेको छ । प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी मनीष डीकेले निर्वाह गरेका छन् ।
भिडियोको छायांकन विनोद बलले तथा सम्पादन र कलरिङ नारोत्तम पाण्डेले गरेका छन् । यस्तै, बाबुराम निरौला प्रमुख सहायक निर्देशकका रूपमा आवद्ध छन् । गीतको निर्देशन तथा निर्माण स्वयं गीतकार तारा अधिकारीले गरेकी हुन् । सशक्त शब्द, मधुर संगीत र आकर्षक दृश्य संयोजनका कारण ‘नभनेका कति कुरा’ ले समकालीन नेपाली संगीतमा आफ्नो छुट्टै स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ ।
‘नभनेका कति कुरा’ सार्वजनिक
Facebook Comments Box
