काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका छवटा चिनियाँ चलचित्रहरू यहाँ प्रदर्शनी गरिएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ यो प्रदर्शनी चलेको हो । ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको प्रदर्शनी कार्यक्रमको आयोजना चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिले गरेको थियो ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको साझेदारीमा यो प्रदर्शनी कार्यक्रम राखिएको हो । नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युटले यस कार्यक्रममा विशेष सहयोग गरेका बताइएको छ ।
तीन दिनको ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ । उनीहरूले आफूलाई मन परेको विभिन्न चिनियाँ चलचित्रहरू नेपालमा व्यावसायिक प्रदर्शनीको अपेक्षा गरेका छन् ।
यस कार्यक्रम पश्चात चिनियाँ चलचित्रकर्मीले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको प्रतिष्ठानका अध्यक्ष के.पी. पाठकको दाबी छ । उनले भने, ‘चिनियाँ चलचित्रहरू पनि नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण निर्माण हुने र नेपाली चलचित्रहरू चिनियाँ बजारमा विभिन्न माध्यमबाट प्रदर्शन हुनेमा हामी आशावादी छौं ।’
कार्यक्रमको पहिला दिन ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएको थियो । दोस्रो दिन ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो । यसैगरी तेस्रो दिन ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।
उद्घाटन समारोहमा चलचित्र ‘ट्रयाप्ड’ को प्रदर्शन अघि, नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिसटर काउन्सिलर चोउ पानले चीन र नेपालबीचको यस कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा जोउले भाषा र राष्ट्रिय सीमानाहरूभन्दा माथि उठ्ने एक “विश्वव्यापी भाषा’’ का रूपमा चलचित्र रहेको उल्लेख गर्नुभयो । यसले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका लागि सबैभन्दा इमानदार र जीवन्त माध्यमको रूपमा काम गर्ने धाराणा उहाँको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *