जलवायु सचेतना कार्यक्रमको समीक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालगन्ज/ बैजनाथ गाउँपालिकामा सञ्चालन भइरहेको विद्यालयस्तरीय जलवायु परिवर्तन सचेतना कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे समीक्षा गर्न सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न बैठकमा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । यस्तो कार्यक्रमले छोटो अवधिमै विद्यार्थीमा जलवायु परिवर्तन सम्बन्धी चेतना अभिवृद्धि गर्न उल्लेखनीय सफलता हासिल गरेको उनीहरुले बताए ।
कार्यक्रममा श्री सूर्योदय माध्यमिक विद्यालय, चिसापानीका प्रधानाध्यापक दीपकबहादुर शाहीले जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रम समयसापेक्ष र प्रभावकारी रहेको बताए । उनले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै विद्यार्थीसँगै अभिभावक तहसम्म पनि सचेतना विस्तार गर्न आवश्यक रहेको धारणा राखे ।
सहभागी प्रधानाध्यापकहरूले विद्यालयको सरसफाइ, हरियाली प्रवद्र्धन, स्वच्छ खानेपानीलगायतका आधारभूत आवश्यकतामा स्थानीय तहले थप प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनीहरूले वातावरण संरक्षण र जलवायु अनुकूल व्यवहार विकासका लागि विद्यालय र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
बैठकका क्रममा कार्यक्रममा आवद्ध विद्यार्थीहरूले आफूले हासिल गरेका सिकाइ, अनुभव तथा कार्यक्रमबाट परेको सकारात्मक प्रभावबारे अनुभव आदानप्रदान गरेका थिए । बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले सहजीकरण गरेको कार्यक्रममा संस्थाका निर्देशक हेमराज भट्टले जलवायु परिवर्तन सचेतना कार्यक्रमको उद्देश्य, हालसम्म प्राप्त उपलब्धि, सिकाइका पक्ष, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए ।
बैठकमा बैजनाथ गाउँपालिका–१ स्थित श्री सूर्योदय माध्यमिक विद्यालय, वडा नं. ५ का श्री सुन्दर आधारभूत विद्यालय, श्री सिंह भवानी आधारभूत विद्यालय तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुरुवागाउँ, साथै वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक तथा जलवायु क्लबमा आवद्ध विद्यार्थीहरूको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरणीय संरक्षणमा विद्यालयको भूमिका अझ प्रभावकारी बनाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *