काठमाडौं/ देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा वैदेशिक रोजगारीको नाममा ठगी गर्ने, सरकारी कागजात कीर्ते गर्ने, डाँका तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । फरार प्रतिवादी नियन्त्रणमा परेका छन् भने विभिन्न घटनाबारे अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ ।
यस क्रममा आकर्षक तलब र रोजगारीको आश्वासन दिएर विदेश पठाइदिने भन्दै रकम असुली सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुमन शाही, वेदबहादुर सुनुवार, अनिल अग्रवाल र विवेक अधिकारी रहेका छन् । उनीहरूले क्रमशः क्रोएसिया, स्विजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने आश्वासन दिएर विभिन्न पीडितबाट लाखौं रुपियाँ उठाएको आरोप छ ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले कुल ३० लाख रुपियाँभन्दा बढी रकम संकलन गरी सम्पर्कविहीन बनेका थिए । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
यता, जिल्ला अदालत काठमाडौंको लेटरप्याड, छाप तथा न्यायाधीशसहितका पदाधिकारीको हस्ताक्षर कीर्ते गरी झुठा कागजात तयार पार्ने आरोपमा २६ वर्षीय विवस अधिकारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको सतुङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा उनले अदालतबाट करोडौं रुपियाँ प्राप्त हुने भन्दै झुठा सूचना तथा सेवा शुल्क भुक्तानीसम्बन्धी नक्कली पत्रहरू तयार गरी प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले अदालतको अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
उता, झापाको मेचीनगर क्षेत्रमा आफूलाई सादा पोसाकका प्रहरी बताउँदै सर्वसाधारणलाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । प्रल्हाद कार्की र विशाल बास्कोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले एक व्यक्तिको सुनको फुली, मोबाइल फोन र नगद लुटेको आरोप छ । पक्राउ परेकामध्ये प्रल्हादको घरबाट करिब दुई ग्राम खैरो हेरोइनजस्तो पदार्थ तथा लुटिएको सुनको फुलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी दुवैजनाविरुद्ध डाँका तथा लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । कैलालीको धनगढीबाट एक युवक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । भारतको लखिमपुरखिरी घर भई धनगढीमा बस्दै आएका २४ वर्षीय साहिल खानको कोठा तलासी गर्दा कटुवा पेस्तोल, चाँदीका गहना, डिजिटल काँटा, फलामको रड तथा खुकुरी बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यता, सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा सामाजिक सञ्जाल प्रयोग गरी ग्राहक खोज्ने तथा होटलमा यौनजन्य गतिविधि सञ्चालन गराउने गिरोहविरुद्ध प्रहरीले कारबाही गरेको छ । मकवानपुरका विकास भुलनसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, होटलसम्म पु¥याउने र यौनजन्य गतिविधि गराउने गरेको खुलेको छ । उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यता, चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुढानिलकण्ठस्थित कटारीबस्तीबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको जनाएको छ ।
यसैगरी सहकारी ठगी प्रकरणका प्रतिवादी पोखराबाट पक्राउ परेका छन् । ठगीसम्बन्धी मुद्दामा फरार रहेका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जितेन्द्र थापा पक्राउ परेका हुन् । जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पोखराको सृजनाचोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप कारबाहीका लागि उनलाई बाँके पठाइएको छ ।
देशभर प्रहरी कारबाही यस्तो
Facebook Comments Box
