सार्वजनिक जग्गा व्यक्तिको नाममा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काभ्रेपलाञ्चोक/ नमोबुद्ध नगरपालिका–४ स्थित एक सार्वजनिक जग्गा निजी स्वामित्वमा दर्ता गरी बेचबिखन गरिएको आरोप लगाइएको छ । स्थानीय बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त जग्गाको संरक्षण गर्न माग गरेका छन् ।
उनीहरूले उक्त जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारी निकायमा उजुरी दिए पनि हालसम्म सुनुवाइ नभएको भन्दै प्रधानमन्त्रीसमक्ष समेत हस्तक्षेपको माग गरेका छन् । स्थानीयवासीका अनुसार साबिक मेथिनकोट गाविस–२ -हाल नमोबुद्ध नगरपालिका–४) मा रहेको कित्ता नम्बर ३०४ को ११ रोपनी ११ आना २ पैसा क्षेत्रफलको जग्गा हडपिएको आरोप लगाइएको छ । उक्त जग्गा परापूर्वकालदेखि गौचरन तथा सार्वजनिक प्रयोजनका रूपमा प्रयोग हुँदै आएको बताइएको छ । २०३३ सालको नापीमा समेत उक्त क्षेत्र वन तथा सार्वजनिक उपयोगको रूपमा उल्लेख भएको दाबी स्थानीयको छ ।
उक्त जग्गा छुट जग्गाको नाममा व्यक्तिगत स्वामित्वमा दर्ता गरी बिक्री वितरण गरिएको र यसबाट ठूलो आर्थिक लाभ उठाइएको आरोप स्थानीयले लगाएका छन् । उनीहरूले यस प्रकरणमा केही व्यक्तिसहित सम्बन्धित सरकारी निकायका कर्मचारीहरूको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । यस विषयमा स्थानीयवासीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न निकायमा उजुरी दिएका थिए । उजुरीपछि पनि आवश्यक कारबाही प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ ।
स्थानीयका अनुसार सार्वजनिक जग्गामाथि भोगचलन देखाउने उद्देश्यले पछिल्लो समय उक्त क्षेत्रमा खेतीपाती समेत गरिएको छ । यसले विवादित जग्गालाई निजी स्वामित्वको रूपमा स्थापित गर्ने प्रयास भएको उनीहरूको आरोप छ । सार्वजनिक सम्पत्तिको संरक्षण, जग्गाको वास्तविक हैसियत छानविन तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाउन माग गर्दै स्थानीयवासीले पुनः अख्तियार, जिल्ला प्रशासन कार्यालय, नमोबुद्ध नगरपालिका तथा अन्य सम्बन्धित निकायमा निवेदन दिएका समाचार स्रोतले जानकारी दिएको छ । निष्पक्ष अनुसन्धान गरी सार्वजनिक जग्गा संरक्षण गर्न सरकारको उच्च तहबाट समेत पहल हुनुपर्ने उनीहरूको माग छ । स्थानीयले सार्वजनिक सम्पत्तिसँग जोडिएको संवेदनशील विषय भएकाले सम्बन्धित निकायले तथ्यपरक अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *